राष्ट्रिय सभा निर्वाचनः नेपाली काँग्रेस बन्यो ठुलो दल

राष्ट्रिय सभा निर्वाचनः नेपाली काँग्रेस बन्यो ठुलो दल

नेपालगन्ज ११ माघ : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस बनेको छ । यसअघि नेकपा (माओवादी केन्द्र) सबैभन्दा ठुलो दल थियो ।

१७ जना सदस्य हुँदा सबैभन्दा ठुलो दल बनेको माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँग एकता गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीका सदस्य संख्या राष्ट्रिय सभामा २५ पुगेको थियो तर, राष्ट्रिय सभाको आईतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ । 

यो पनि राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट कांग्रेस–एमाले गठबन्धन विजयी

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको माघ ११ गते सम्पन्न निर्वाचनले छ बर्से कार्यकालका लागि १८ जना सदस्य निर्वाचित गरेको हो । नेपालको संविधान २०७२ को धारा ८६(३) ले राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने व्यवस्था गरेको छ । सोही उपधारामा सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने उल्लेख छ, जस अनुसार २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा एक तिहाइ सदस्यको निर्वाचन भएको हो । 

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एक निर्विरोधसहित नेपाली काँग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले) का आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक जना निर्वाचित भए । निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर मधेशको अन्य समूहबाट निर्वाचित भए । राष्ट्रिय सभामा एक मात्र सदस्य रहेको लोसपाका शेखरकुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित भएका हुने ।

जनता समाजवादी पार्टी नेपालबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि जित्न सकेनन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई तथा राष्ट्रिय जनमोर्चाबाट चार जनाको उम्मेदवारी परे पनि कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् । माथिल्लो सदनमा नेमकिपाको प्रतिनिधित्व छैन । राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्य छन् ।

कोशी प्रदेशमा अन्य समूहबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए । निर्वाचनबाट प्राप्त मतपरिणाम अनुसार फागुन २१ गतेपछि राष्ट्रिय सभामा नेपाली काँग्रेसबाट निर्वाचित हुने सदस्यको संख्या २४ हुने छ । नेपाली कम्युनिस्ट पार्टी भने दोस्रो ठुलो दलमा धकेलिने छ । नेकपा (एमाले) ले दश जना सदस्यसहित तेस्रो ठुलो दलको हैसियत प्राप्त गर्ने छ । दश जना सदस्य रहेको एमाले यसअघि पनि तेस्रो ठुलो दल थियो । नेकपाका आठ, एमालेका आठ, जसपा र लोसपाका एक÷एक र मनोनीत एक गरी १९ सदस्यको कार्यकाल आगामी फागुन २० गतेबाट सकिँदै छ । 

यस्तो छ प्रदेशगत निर्वाचित सदस्यहरूको विवरण

कोशी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) की रोशनी मेचे (महिला समूह), सोमनाथ पोर्तेल (दलित समूह) र नेपाली काँग्रेसका सुनीलबहादुर थापा (अन्य समूह, निर्विरोध) निर्वाचित हुनुभएको छ ।

मधेश प्रदेशबाट नेपाली काँग्रेसका धर्मेन्द्र पासवान (दलित समूह), रञ्जित कर्ण (अपाङ्गता÷अल्पसंख्यक समूह), एमालेकी रेखाकुमारी झा (महिला समूह), लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर (अन्य समूह) निर्वाचित भए । 

यसैगरी बागमती प्रदेशबाट नेपाली काँग्रेसकी गीता देवकोटा (महिला समूह) र एमालेका प्रेमप्रसाद दङ्गाल (अन्य समूह) निर्वाचित भए । गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा (महिला समूह) र नेपाली काँग्रेसका जगत तिमिल्सिना (अन्य समूह) निर्वाचित भए ।

यो पनि राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै

यस्तै लुम्बिनी प्रदेशबाट एमालेकी रामकुमारी झाँक्री (महिला समूह), नेपाली काँग्रेसका वासुदेव घिमिरे ‘जङ्गली’ (अपाङ्गता÷अल्पसंख्यक समूह) र चन्द्रबहादुर केसी (अन्य समूह) निर्वाचित भए ।

कर्णाली प्रदेशबाट एमालेकी मीनासिंह रखाल (महिला समूह) र नेपाली काँग्रेसका ललितजङ्ग शाही (अन्य समूह) निर्वाचित भए । सुदूरपश्चिम प्रदेशबाट एमालेकी लीलाकुमारी भण्डारी (महिला समूह) र नेपाली काँग्रेसका खम्मबहादुर खाती (अन्य समूह) निर्वाचित भए । 

Duduwa Tato hawa Bachau Image

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० मा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेस गरी निर्वाचित उम्मेदवारको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था छ । सोबमोजिम आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम समावेश भएको प्रतिवेदन पेस गर्नुका साथै नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई परिणामबारे औपचारिक जानकारी गराउने छ । 

सात वटै प्रदेशमा गरी कुल दुई हजार ११ जना मतदाता रहेकोमा एक हजार ९२४ जना मतदानमा सहभागी भए । पालिकातर्फ एक हजार ४८२ मध्ये एक हजार ४२६ र प्रदेश सभा सदस्यतर्फ ५२९ मध्ये ४९८ जना मतदाताले मतदान गरेका छन् । 

यो पनि राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग

संविधानको धारा ८६(२) क मा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा सङ्घीय कानूनबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था छ ।  प्रदेश सभाको सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ छ । सम्बन्धित प्रदेशमा प्रदेश सभा सदस्य, पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले गरेको मतलाई मतभारसँग गुणन गरेर आउने जोडफलका आधारमा बढी मतभार ल्याउने उम्मेदवार सम्बन्धित प्रदेशको सम्बन्धित समूहबाट निर्वाचित भएका छन् ।