नेपालगन्जमा सालिकहरुको पुनर्जन्मः इतिहास र धरोहरको संरक्षण
नेपालगन्ज ९ साउन : नेपालगन्ज उपमहानगरपालिकामा विभिन्न आन्दोलनका क्रममा तोडफोड तथा क्षतिग्रस्त भएका ऐतिहासिक तथा राजनीतिक व्यक्तित्वका ६ वटा सालिकहरू पुनर्निर्माण गरी आज एकैदिन संयुक्त रूपमा अनावरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अलग–अलग चोकहरूमा स्थापना गरिएका ती सालिकहरूको अनावरण गरेका हुन् ।
पुनस्र्थापित सालिकहरूमा दोस्रो जनआन्दोलन (२०६२/०६३) का क्रममा धम्बोझी चोकबाट हटाइएको स्वर्गीय राजा वीरेन्द्र शाहको पूर्णकदको सालिक तथा गत वर्ष भदौमा ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइराला, लौह पुरुष गणेशमान सिंह, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव जननेता पुष्पलाल श्रेष्ठ र दोस्रो जनआन्दोलन (२०६२/२०६३) की सहिद सेतु विकका सालिकहरू रहेका छन् ।
यसैगरी, संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ अर्धकदको सालिक पनि निर्माण गरी नेपालगन्जको ट्राफिक कार्यालय नजिक अनावरण गरिएको छ ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रशान्त विष्टले इतिहासको सम्मान, राजनीतिक व्यक्तित्वहरूको योगदानको स्मरण र नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले सालिकहरूको पुनर्निर्माण गरिएको बताए ।
उनले भने, ‘यी हाम्रा धरोहर हुन् जसले इतिहासलाई जीवन्त राख्ने छन् । राष्ट्रका लागि योगदान पु¥याउने राष्ट्रिय विभूतिहरूको सम्मान गर्नु समाजको साझा दायित्व हो ।’
उपमहानगरपालिकाका अनुसार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नयाँ सालिकबाहेक अन्य ५ वटा सालिक पुनर्निर्माणका लागि आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत करिब २५ लाख रुपैयाँ खर्च गरिएको छ ।
लामो समयदेखि नेपालगन्जमा सालिक पुनःस्थापनाको विषय विवाद र चर्चामा रहँदै आएको थियो । तर, यसपटक स्थानीय सरकारको पहलमा सर्वपक्षीय राजनीतिक सहमति जुटेपछि शान्तिपूर्ण रूपमा सालिकहरू ठड्याइएका हुन् ।
यी छ वटै सालिक पुनःनिर्माणका लागि करिब ७८ लाख रुपैयाँ खर्च भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएकोछ ।
नेपालमा संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहेका नेपालगञ्जका स्वर्गीय कोइरालाको अर्ध कदको सालिक करिब २३ लाख रुपैयाँको लागतमा नेपालगन्जको ट्राफिक चोक नजिक रहेको उद्यानमा निर्माण गरिएको छ ।
त्यसैगरी, गणेशमान चोकस्थित नेपाली काँग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्ण कदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।
यस्तै, थापाका अनुसार धम्बोझी चोकस्थित स्वर्गीय जनप्रिय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्ण कदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको छ भने पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय जननेता पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।
यसैगरी, नेपालगन्ज न्युरोडस्थित सहिद सेतु विकको अर्ध कदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ ।
उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । कोइरालाको सालिक रहेको उद्यान बाहेक अन्य सबै सालिक अवस्थित चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।
सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो । पुनः स्थापित सालिकहरूले नेपालगञ्जका सार्वजनिक स्थललाई पुनः ऐतिहासिक गरिमा र सौन्दर्य प्रदान गर्नुका साथै राष्ट्रिय विभूति र सहिदप्रतिको सम्मानलाई थप सुदृढ बनाएको स्थानीयवासीले बताएका छन् ।
सालिक अनावरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।





0 Comments