झुक्यो भारत सरकार, शिक्षामन्त्रीले दिए राजीनामा

झुक्यो भारत सरकार, शिक्षामन्त्रीले दिए राजीनामा

नेपालगन्ज ९ साउन : एक महिनादेखि चलिरहेको युवा आन्दोलनका कारण भारत सरकार पहिलोपटक झुकेको छ ।

कक्रोच जनता पार्टी र युवाहरुको आन्दोलनको मागबमोजिम भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टी (सिजेपी) ले प्रदर्शन गर्दै आएको थियो ।

नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विभिन्न प्रदर्शन भइरहेका थिए ।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाइसकेको जानकारी दिएका छन् । यद्यपि, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।

एक्समा उनले लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर उत्पन्न भएको अवस्थाको राष्ट्रविरोधी शक्तिहरूले फाइदा नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा खर्च गरून् र आफ्नो करिअर निर्माणमा केन्द्रित हुन सकून् भन्ने सोचका साथ मैले सम्माननीय प्रधानमन्त्रीलाई आफ्नो राजीनामा पठाएको छु ।’

प्रधानले एक्समा सार्वजनिक गरेको पत्रमा आफू विगत चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित रहेको उल्लेख गरेका छन् ।

Duduwa Tato hawa Bachau Image

नीट प्रश्नपत्र चुहावट प्रकरणबारे उनले भनेका छन्, ‘पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएको थिएँ र यो परिस्थितिबाट कहिल्यै पन्छिएको थिइनँ । मेरो प्रतिबद्धता थियो कि परीक्षा माफियाका कारण कुनै पनि मेधावी विद्यार्थीको भविष्य बिग्रन नदिइयोस् र कुनै पनि विद्यार्थीमाथि अन्याय नहोस् ।’ उनले केही जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विद्यार्थीलाई भ्रमित पार्ने प्रयास गरेको आरोप पनि लगाएका छन् ।

यता ककरोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजीत दीपकेले भनेका छन्, ‘हामी सफल भयौं । धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।’ यसअघि काँग्रेससहित विपक्षी दलहरूले पनि उनको राजीनामाको माग गर्दै आएका थिए ।