बाँकेमा संघीय र प्रदेशको बजेट खर्चमा सकसः तीन अर्ब विकास बजेट फ्रिज भयो

बाँकेमा संघीय र प्रदेशको बजेट खर्चमा सकसः तीन अर्ब विकास बजेट  फ्रिज भयो

नेपालगन्ज ९ साउन : बाँकेमा वर्षेनी संघीय र प्रदेशको बजेट खर्चमा सकस देखिएकोछ । आर्थिक वर्ष २०८२/८३ मा बाँके जिल्लाको विकासका लागि आएको करिब तीन अर्ब रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता भएपछि बजेट खर्चको अवस्था चिन्ताजनक पाइएको हो । 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नेपालगन्जका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त पुँजीगत (विकास) बजेटमध्ये दुई अर्ब ९९ करोड २७ लाख ४७० रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक सर्वोदय उपाध्यायका अनुसार संघीय सरकारतर्फको एक अर्ब ९१ करोड ४१ हजार १३१ रुपैयाँ र प्रदेश सरकारतर्फको एक अर्ब आठ करोड २६ लाख ५९ हजार ३३९ रुपैयाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको हो ।

कोलेनिकाका अनुसार त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा पनि दुई अर्बभन्दा बढी पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको थियो । उक्त आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको गरी दुई अर्ब १८ करोड १७ लाख ५८ हजार २७२ रुपैयाँ पुँजीगत बजेट खर्च नभएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारतर्फको एक अर्ब ३६ करोड ३३ लाख ५४ हजार १३९ रुपैयाँ र प्रदेश सरकारतर्फको ८१ करोड ८४ लाख चार हजार १३३ रुपैयाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको कोलेनिकाको तथ्याङ्क छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक उपाध्यायले गत आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा संघीय सरकारतर्फ चालु र पुँजीगत गरी कुल बजेट खर्च ८६.७४ प्रतिशत रहेको जानकारी दिए । 

उनका अनुसार संघीय सरकारतर्फ बाँकेका लागि चालु बजेट १३ अर्ब ५४ करोड चार लाख १२ हजार ८३३ रुपैयाँ र पुँजीगत बजेट सात अर्ब पाँच करोड ८१ लाख ९७ हजार १२६ रुपैयाँ प्राप्त भएको थियो ।

Duduwa Tato hawa Bachau Image

त्यसमध्ये चालुतर्फ १२ अर्ब ७१ करोड ९८ लाख चार हजार ८२८ रुपैयाँ अर्थात् ९३.९४ प्रतिशत र पुँजीगततर्फ पाँच अर्ब १४ करोड ८१ लाख ५५ हजार ९९५ रुपैयाँ अर्थात् ७२.९४ प्रतिशत खर्च भएको छ ।

तीन तहका सरकारले असार मसान्तअघि नै बजेट ल्याउने गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको तथ्याङ्कले देखाएको छ । जिल्लाको विकासका लागि आएको ठुलो रकम खर्च हुन नसकी फिर्ता हुँदा विकास निर्माणका काम प्रभावित हुने स्थानीयको गुनासो छ ।