विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण
- | अर्थ | नेपाखबर | अपराध–घटना
- २३ मंसिर २०८२, सोमवार
- नेपाखबर
नेपालगन्ज २२ मंसिर : नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता नतिर्ने ग्राहकका लाइन काट्न थालेको छ । लाइन काटेर एक सातादेखी २१ लाख बढी रकम असुल उपर गरेको छ ।
बक्यौता असुलीका लागि ग्राहकहरु उपर कडाइ बढाउँदै नेपालगन्ज वितरण केन्द्रले एक सातायता ५२ लाख १३ हजार ४ सय ६१ रुपैयाको बक्यौता असुली गर्न मंसिर १४ गतेदेखी ३ सय २२ जना ग्राहकहरुको विद्युत लाइन काटेको हो ।
त्यसमध्ये १७ लाख ९७ हजार १ सय ७७ रुपैया बक्यौता असुलीका लागि आईतबार मात्रै १ सय २१ जना ग्राहकको विद्युत लाइन विच्छेद गरिएको छ ।
नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राका अनुसार यो अवधीमा लाइन काटिएका ग्राहकहरुबाट नेपालगन्ज वितरण केन्द्रले २१ लाख ७६ हजार ५ सय १७ रुपैया बक्यौता असुल गर्दै १ सय ३३ जना ग्राहकहरु विद्युत लाइन पुनः जोडेको छ ।
यो पनि नेपालगन्जमा ‘नो–पे, नो–लाइट’ अभियान, बक्यौता असुली प्रक्रिया सुरु
जसमध्ये आइतबार मात्रै ६ लाख ८९ हजार ४ सय ३१ रुपैया बक्यौता असुल गरी ४४ जनाको विद्युत पुनः सुचारु गरिएको जनाइएको छ ।
त्यसैगरी कालोपाटीमा सूचिकृत मध्ये आइतवार एक जना ग्राहकबाट १ लाख रुपैया असुल उपर गरेको पनि नेपालगंज वितरण केन्द्रले जनाएको छ ।
समयमा नै विद्युत महसुल भुक्तानीका लागि सम्पूर्ण ग्राहक वर्गलाई अनुरोध गर्दै नेपालगन्ज वितरण केन्द्र प्रमुख मिश्राले बक्यौता असुलीका लागि लाइन काट्नु बाध्यता भएको बताए ।
६१ दिन भन्दा बढी महसुल बक्यौता रहेका ग्राहकको विद्युत लाइन जुनसुकै बेला काट्न सकिने विद्युत प्राधिकरणको प्रचलित विनियममा उल्लेख छ ।





0 Comments