नेपालगन्जमा ‘नो–पे, नो–लाइट’ अभियान, बक्यौता असुली प्रक्रिया सुरु
नेपालगन्ज २४ कार्तिक : बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध नेपालगन्जमा पनि कडाई सुरु गर्दै ‘नो–पे, नो–लाइट’ अभियान सञ्चालन गरिएकोछ ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत उपभोग गरे बापतको बक्यौता रकम नतिर्ने ग्राहकविरुद्ध अभियान नै चलाएर बक्यौता असुलीलाई अगाडी बढाएको हो ।
वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिरेका १८२ जना ग्राहकको लाइन काट्दै एक करोड ३४ लाख ६२ हजार ४२० रुपैयाँ बक्यौता असुली गर्ने प्रक्रिया अघि बढाइएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए ।
उनले सो अभियान सुरु भएको तीन दिनमै लाइन काटिएका १८२ मध्ये ७६ जना ग्राहकले ४१ लख ८९ हजार ९० रुपैयाँ बक्यौता रकम तिरेको जनाउँदै बाँकी ग्राहकले बिल तिरेपछि उनीहरूको लाइन पुनः जडान गरिने बताए ।
विद्युतको बक्यौता रकम असुल गर्न जिल्लामा ‘नो–पे, नो–लाइट’ अभियानलाई तीव्रता दिइएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । गत शुक्रबारदेखि सुरु गरिएको विद्युत महसुल उठाउने उक्त अभियान अन्तर्गत प्राधिकरणले स्मार्ट मिटरमार्फत उद्योगी र व्यवसायीहरूको लाइन काट्ने कार्य अघि बढाएको हो ।
लाइन प्रयोग गरेबापतको बिल ६० दिनभित्र तिर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । उक्त अवधिभित्र बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुनेछ । यो अभियानले बाँकेका ग्राहकलाई समयमै बिल तिर्नुपर्ने सचेतना जगाउनुका साथै विद्युत् सेवालाई अझ व्यवस्थित, भरपर्दो र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास लिइएकोछ ।





0 Comments