बाँकेमा किसानलाई सहजरुपमा मलखाद विक्री गर्दै कम्पनी
स्थानीय सरकार र सहकारीका कारण मर्कामा किसान
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठ ।
नेपालगन्ज १६ असार : बाँकेमा लक्ष्य अनुसार मलखाद प्राप्त भइरहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले जनाएकोछ । लक्ष्य अनुसार मलखाद प्राप्त हुनेभएपछि बाँकेका किसानलाई चाहिने मलखादको समस्या पहिलेजस्तो नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको हो ।
‘कम्पनीमा मलखाद आउने क्रम जारीछ । विगतका वर्षको तुलनामा सहज छ’ कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले भने ।
‘प्रत्येक वर्ष विक्री भएका आधारमा आगामी वर्षका लागि मलखाद माग गर्छौं’ शाखा प्रबन्धक श्रेष्ठले अगाडी भने–‘लक्ष्य अनुसार मलखाद प्राप्त भइरहेकोछ ।’
वर्षायाम शुरु भइसकेकाले यतिबेला बाँकेका किसान बर्खे खेतीमा ब्यस्त छन् । किसानलाई यहीबेला मलखाद पाउन सकस हुने गरेकोछ । तर, कम्पनीका शाखा प्रबन्धक श्रेष्ठले आफूहरुसँग प्रयाप्त मलखाद मौज्दातमा रहेको बताए ।
यो बेला किसानलाई डिएपी खाद आवश्यक पर्छ । डिएपी खाद्य किसानलाई उपलब्ध गराइरहेकाछौं । हामीलाई प्राप्त भएको मलखाद कम्पनीमा लामो समय भण्डारण गरेर राख्दैनौं । लगत्तै सहकारीलाई वितरण गरिहाल्छौ । जिल्लाका एक सय ३४ सक्रिय सहकारीमार्फत मलखाद विक्री गरिरहेको बताउँदै शाखा प्रबन्धक श्रेष्ठले अबको केही दिनपछि युरिया खाद वितरण गर्ने बताए ।
कम्पनीका शाखा प्रबन्धक श्रेष्ठका अनुसार २०८१ साउन १ देखि २०८२ असार १५ गतेसम्म ४५९६ दशमलव ४ सय मेट्रिक टन युरिया, २७५६ दशमलव ६ सय मेट्रिक टन डिएपी र २४८ दशमलव एक सय पचास मेट्रिक टन पोटास मलखाद विक्री गरिएकोछ ।
सोही अवधिमा युरिया ४३९९ दशमलव पाँच सय मेट्रिक टन, डिएपी २ हजार ४०६ मेट्रिक टन र पोटास २ सय ७४ मेट्रिक टन प्राप्त भएको थियो । कम्पनीका शाखा प्रबन्धक श्रेष्ठका अनुसार हाल युरिया १६१ मेट्रिक टन, डिएपी ७३ दशमलव ८ सय ५० मेट्रिक टन र पोटास २९ दशमलव शून्य पचास मेट्रिक टन मौज्दात रहेकोछ ।
‘सन्तुलितरुपमा मलखाद प्रयोग गर्न नजान्दा एकातिर मलखादको समस्या देखिन्छ भने अर्कोतर्फ किसान आफैले आफ्नो खेतको माटोको उर्वराशक्तिमा समेत असर पारिरहेका हुन्छन्’ कम्पनीका शाखा प्रबन्धक श्रेष्ठ भन्छन्–‘खेती गर्दा किसानले सन्तुलितरुपमा मलखाद प्रयोग गर्न सक्नुपर्छ ।’
यो पनि आज राष्ट्रिय धान दिवसः बाँकेमा ११ प्रतिशत धान रोपाइँ
ढुवानी र भौगोलिकका कारण समयमा मलखाद उपलब्ध हुन नसकेको बताउँदै शाखा प्रबन्धक श्रेष्ठ भन्छन् –‘मलखाद लोड गरिएका गाडी समयमा गन्तब्यसम्म पुग्न सक्दैनन्, कतिपय अवस्थामा लामो दूरी र भौगोलिक जटिलताका कारण ढुवानीमा असहज भएपछि किसानले सास्ती भोग्नुपरेको हो ।’
गत वर्षको तथ्यांक अनुसार २०८० साउन १ देखि २०८१ असार १५ सम्म युरिया, डिएपी र पोटास गरि ४ हजार ४ सय ३९ दशमलव ८ मेट्रिक टन मलखाद विक्री गरिएको शाखा प्रबन्धक श्रेष्ठले बताए । सोही अवधिमा ४ हजार ४ सय २६ दशमलव ७५ मेट्रिक टन मलखाद प्राप्त भएको थियो । भने हाल ४०१ दशमलव ३५ मेट्रिक टन मलखाद मौज्दात रहेकोछ । उनका अनुसार यसमा अघिल्लो वर्षको ४ सय १४ दशमलव ४ मेट्रिक टन बचेको मलखाद समेत जोडिएकोछ ।
स्थानीय सरकार र सहकारीका कारण मर्कामा किसान
एकातिर पर्याप्त मल उपलब्ध नहुँदा समस्या किसानहरूलाई सदाझैँ यसवर्ष पनि मल पाउन हम्मेहम्मे परिरहेको अवस्था छ । यसका पछाडि मल वितरण गर्ने प्रणालीमा स्थानीय सरकार र सहकारीले गर्ने बदमासी पनि कारणको रूपमा रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले केही वर्षयता कुन सहकारीमा कति मल आवश्यक छ भनेर स्थानीय सरकारको सिफारिस भएपछि त्यसका आधारमा मल पठाउँछ ।
तर, बाँकेको जानकी गाउँपालिकाले असार ५ गते कृषि सामग्रीले सिफारिस पठाइदिन पत्राचार गरेपनि अहिलेसम्म मलको सिफारिस पठाएको छैन । सिफारिस नआउँदा बाँकेका अन्य स्थानीय तहका सहकारीमा मल पुगिसकेपनि जानकी गाउँपालिकामा मल पुगेको छैन ।
जानकी गाउँपालिकाको कृषि शाखाका अधिकृत असिम पौडेल केही दिनअघि बसेको सिफारिस समितिको बैठकले टुंगो लगाउन नसकेको बताए । अब चाँडै बैठक बसेर मलको कोटा सिफारिस गरिने उनको भनाइ छ ।
सिफारिस पठाएका स्थानीय तहले पनि एउटै वडाका धेरै सहकारीलाई मल तोकेर पठाउने र धेरै किसान रहेका वडामा भने थोरै मलको कोटा तोकेर पठाउने गरेकाले पनि बढी चाप हुने सहकारीहरूमा समस्या सिर्जना हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ ।
त्यसैमाथि सहकारीमा पनि आफन्त, नातागोता र राजनीतिक दलका नेता कार्यकर्तालाई प्राथमिकता दिँदा पहुँच नहुने किसानहरूले मल समयमा नपाउने अवस्था आउने गरेको छ । सहकारीका सञ्चालक समितिले रेकर्ड नराख्दा कसैले कत्ति पनि नपाउने कसैले पटक–पटक मल लिएको पाइएको । रेकर्ड नराखी अन्धाधुन्ध मल वितरण गर्ने, मलको कोटा मात्रै निर्धारण गर्ने, अनुगमन नगर्ने गाउँपालिका र प्रशासनलाई जिम्मेवार नहुँदा किसानले वर्षेनी मलमा सास्ती खेप्नु परिरहेकोछ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार बाँकेको कुल २ लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफल छ । यो क्षेत्रफलमध्ये खेतीयोग्य जमिन ५७ हजार २५२ हेक्टर हो । तर, बाँकेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएकोछ । त्यसमा पनि ३४ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ ।
कृषि ज्ञान केन्द्र बाँकेले शुक्रबारसम्मको तथ्याङ्क अनुसार जिल्लाका आठवटै स्थानीय तहमा गरी करिब ११ प्रतिशत धान रोपाइँ भएको जनाएको छ ।
बाँकेमा ३४ हजार ८ सय ५० हेक्टरमध्ये तीन हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जिल्लामा हालसम्म फाट्टफुट्ट मात्रै धान रोपाइँ भएको जानकारी दिए ।
कतिपय किसानले समयमै पर्याप्त वर्षा नभएपछि खोला तथा नहरमा पम्पसेटसँगै घरमा मोटर, खानेपानीको धारा प्रयोग गरेर धानको बिउ राखेका छन् ।
वर्षातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बिउ राखेका किसानहरु यतिबेला बर्षात नभएपछि बिउ बुढो हुने चिन्तामा परेका छन् ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भए पनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन् । जसका कारण किसानहरु अहिले पनि आकाशे वर्षाको भर पर्न बाध्य भएका छन् । गत वर्ष असार १५ गतेसम्म बाँकेमा जम्मा २ प्रतिशत मात्र रोपाई सम्पन्न भएको थियो ।





0 Comments