आज राष्ट्रिय धान दिवसः बाँकेमा ११ प्रतिशत धान रोपाइँ

आज राष्ट्रिय धान दिवसः बाँकेमा ११ प्रतिशत धान रोपाइँ

नेपालगन्ज १५ असार : बाँकेमा असार मध्यसम्म करिब ११ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । असार १५ गते आईतबार विभिन्न स्थानीय तहमा धान रोपाई कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै छन् । 

कृषि ज्ञान केन्द्र बाँकेले शुक्रबारसम्मको तथ्याङ्क अनुसार जिल्लाका आठवटै स्थानीय तहमा गरी करिब ११ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । 

बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये तीन हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जिल्लामा हालसम्म फाट्टफुट्ट मात्रै धान रोपाइँ भएको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी समेत रहेका वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले भने, ‘बाँकेमा असारपछि मात्रै रोपाइँ शुरु हुने भएकाले अहिले भएको रोपाइँ कम भएपनि अघिल्ला वर्ष जस्तै हो, असार अन्तिमसम्म धान रोपाइँको क्षेत्रफल बढ्ने निश्चित छ ।’ 

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको राप्तीसोनारीमा सबैभन्दा बढी धान रोपाइँ भएको छ । कतिपय किसानले समयमै पर्याप्त वर्षा नभएपछि खोला तथा नहरमा पम्पसेटसँगै घरमा मोटर, खानेपानीको धारा प्रयोग गरेर धानको बिउ राखेका छन् । 

Duduwa Tato hawa Bachau Image

वर्षातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बिउ राखेका किसानहरु यतिबेला बर्षात नभएपछि बिउ बुढो हुने चिन्तामा परेका छन् । बाँकेमा जिल्लाभर ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भए पनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन् । जसका कारण किसानहरु अहिले पनि आकाशे वर्षाको भर पर्न बाध्य भएका छन् ।