एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

एपिएफ लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज १२ वैशाख : विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । इन्जुरी समयमा गीता रानाको हेड गोल नै एपिएफलाई विजयी बनाउन सफल भयो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।

एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा  सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई  सेडनडेथमा ६–५ ले पराजित गरेको थियो ।  

यो पनि : लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

उपाधिका लागि भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उपाधीका लागि भएको खेलमा सोँचे अनुसारको प्रस्तुती दिन नसकेको विजेता टिम एपीएफका कोच भगवती थापाले बताएकी छिन् । प्रतिद्वन्द्वी नेपाल पुलीस क्लबले कडा चुनौती दिएको उनले स्विकार समेत गरीन् । उता घरेलु मैदानमा जित हासिल गर्ने नेपाल पुलिस क्लबका क्याप्टेन निरु थापाको सपना भने अधुरो भएको छ । यद्यपी उनले घरेलु मैदानमा उपविजेता बनेकोमा खुशी नै ब्यक्त गरेकी छिन् । 

फाइनल खेलमा प्लेयर अफ द फाइनल एपीएफका गिता राना घोषित भइन । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिनेश बिष्टले नगद रु ५ हजार प्रदान गरे । रेफ्री कृति सेन, जमुना आले, अमर घले र कृष्ण खत्रीलाई बाँकेको कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख संगिता सुवेदी र खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले मायाको चिनो प्रदान गरेका थिए । यसैगरी उत्कृष्ट गोल रक्षक नेपाल पुलिस क्लबका उषा नाथलाई नेपाली काँग्रेस बाँकेका सभापती नारायण प्रसाद गौडेल र नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङले नगद रु १० हजारले सम्मान गरेका थिए । 

यो पनि : लुम्बिनी कप महिला फुटबल : आज एपिएफ क्लब र रौतहटबीच रोमाञ्चक खेल हुँदै

यसैगरी उत्कृष्ट डिफेन्डर एपिएफका गिता राना, स्ट्राइकर अनिता केसी र प्रशिक्षक भगवती थापालाई सम्मान गरीएको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडी एपीएफका क्याप्टेन अनिता बस्नेतले नगद रु २५ हजार हात पारेकी छिन् । प्रतियोगिताको उपाधि बिजेता तथा उपबिजेता एबम उत्कृष्ट खेलाडीहरुलाई शसस्त्र प्रहरीका एसएसपी गंगाराम सुवेदी, प्रायोजक ईसेवा नेपालगन्ज शाखाका म्यानेजर  महेन्द्र राना, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, साविक मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, नेपालको पहिलो महिला ओलम्पियन खेलाडी पार्वती थापा, हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेस नेपालगन्जका प्रमुख लोकेन्द्र अर्याल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, पुर्व अध्यक्ष निरज गौतम र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतले पुस्कार, मेडल तथा ट्रफी वितण गरेका थिए ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।

प्रतियोगिता शुरु हुनु अगाडि अन्तरालका कार्यकारी जयनारायण शाहले स्वागत गर्दै लुम्बिनी कपको पहिलो संस्करणलाई सहयोग गर्ने स्थानीय तह, प्रदेश सरकार, स्थानीय व्यापारी तथा सम्पूर्ण प्रयोजकहरुलाई धन्यवाद दिए । उनले लुम्बिनी कपलाई सफल बनाउन ठूलो टिमको मेहनत रहेकाले यो खेल खेलाडीका लागि अगाडी बढ्न कोशेढुंगा सावित हुने बताए ।

यो पनि : लुम्बिनी कप महिला फुटबलः सेमिफाइनल समीकरण पूरा

फाईनल खेललाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले खेल क्षेत्रले समाजको आमूल परिवर्तन गर्ने बताएका छन् । खेलले सभ्य समाजको निर्माण गर्ने बताउँदै उनले भने –‘खेलले भूगोलको पहिचान बनाउने गर्छ । भोको पेटले खेल खेल्न नसकिने भएकाले लुम्बिनी प्रदेश खेल क्षेत्रका लागि बजेटको तयारीमा रहेका छौं ।’ उनले लुम्बिनी कपले एक आपसमा आत्मियता र सहयोगी भावना बढाउने बताए । प्रतियोगिता शुरु हुनु अगाडी बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै विभागीय टिम नेपाल पुलिसमा क्याप्टेनको भूमिका निभाईरहेकी निरु थापालाई सम्मान गरिएको थियो । 

Duduwa Tato hawa Bachau Image

बाँकेको जानकी गाउँपालिका वडा नम्बर– १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले प्रमाणपत्र र नगद रु २५ हजार सहित सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र अन्तरालका कार्यकारी जयनारायण शाह लगायतले सम्मान गरेका थिए । 

यो पनि : छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

यसअघि फिफा एन्थम र राष्ट्रिय गीत प्रस्तुत गरिनुका साथै साना खेलाडी बालबालिकाहरूले हात समातेर खेलाडीलाई मैदानसम्म लगेका थिए । यो दृश्य निकै रोचक देखिएको थियो । साथै वैशाख १२ गते राष्ट्रिय भूकम्प दिवस पनि परेकाले विक्रम संवत् २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मौन धारण समेत गरिएको थियो । फाइनल खेल लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्य रेफ्री कृति सेनलाई फुटबल हस्तान्तरण गरेपछि शुरु भएको थियो ।