कोहलपुर नगरपालिकालाई नागरिकका प्रश्न
कोहलपुर १३ पुष : कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।
कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा शुक्रबार भएको सुनुवाईमा नागरिकहरुले नगरपालिकासंग विकासका बिभिन्न माग राखेका छन् ।
नगरपालिकाभित्रका पिछडिएका बस्तीहरुमा बाटो तथा सडक निर्माणमा पालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । सार्वजनिक सुनुवाईका अधिकांश सहभागीहरुले बाटोघाटो, सडक र नालीकै माग गरेका थिए ।
पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटोघाटो र सडकमै लगानी गर्दै आएको भए पनि धेरै विकट ठाउँहरुमा बाटो तथा सडकको समस्या कायमै रहेको नागरिकहरुको भनाई थियो ।
सहभागीले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकारवालालाई प्रश्न गरेका थिए ।
सहभागीहरुले गरेको प्रश्नको जवाफ दिँदै नगर प्रमुख पुर्णप्रसाद आचार्यले पालिकाभित्रका सबै टोल तथा बस्ती जोड्ने गरी बाटो तथा सडक निर्माणमा लागिपरेको बताए ।
आफूहरु निर्वाचित भएर आएपछि धेरै बाटो तथा सडकहरु निर्माण भएको भन्दै नगर प्रमुख आचार्यले भने ‘सबै विकास एकै पटकमा सम्भव हुँदैन, आवश्यक्ताको आधारमा क्रमागतरुपले विकास हुँदै जान्छ, नगरपालिकाले विकासको दृष्टिकोणले फड्को मार्ने गरी काम गरिरहेका छौं ।’
पालिकाको बिभिन्न ठाउँमा बाटो कालोपत्रे हुनुपर्नेे विषयमा नागरिकहरुले गरेको प्रश्नको जवाफ दिँदै आचार्यले नागरिकहरुले अपेक्षा गरे अनुसारको विकास गर्नका लागि पालिकाको वजेटले मात्रै नभ्याउने भएकाले संघ तथा प्रदेशसंग सरकारको वजेट समेत आवश्यक भएको बताए ।
सार्वजनिक सुनुवाईमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा अध्यक्ष र शाखा प्रमुखहरुले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा उठान भएका विषयको आधारमा विभिन्न ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो ।
बास नेपालका कार्यक्रम प्रवन्धक मन भण्डारीले सहजीकरण गरेको सुनुवाईको शुरुवातमा नगर प्रमुख आचार्यले यो अवधिमा गरेका कामहरु र आगामी योजनाको बारेमा जानकारी गराएका थिए ।
बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा २ सय जना नगरवासीहरुको सहभागिता रहेको थियो ।





0 Comments