नेपालगन्जमा शीतलहर शुरु, जनजीवन प्रभावित

नेपालगन्जमा शीतलहर शुरु, जनजीवन प्रभावित

नेपालगन्ज १० पुष : सोमबार साँझ सुदूरपश्चिम प्रदेशबाट भित्रिएको चिसो मंगलबार कर्णाली र लुम्बिनी प्रदेशसम्म पुगेको छ । सोमबार घाम देखिए पनि मंगलबार हल्का वर्षासँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात भएको छ ।

वर्षा र हिमपातसँगै बढेको चिसोले पश्चिम नेपालमा जनजीवन प्रभावित भएको छ । मंगलबार बिहान हल्का वर्षा भएको हुम्लामा पछि हिमपात भएको थियो ।

हुम्लामा परेको सिजनको दोस्रो हिमपात हो। यहाँ करिब दुई इन्चसम्म हिउँ परेको थियो । हुम्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपात भएको छ ।

जुम्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएमा अधिकांश ठाउँमा सामान्य हावाहुरी र वर्षा भएको छ । हिमाली क्षेत्रको तापक्रम माइनस डिग्रसम्म पुगेको छ । कर्णाली र सुदूरपश्चिम ब्यूरोका अनुसार सुर्खेत र नेपालगन्जबाट हुने दैनिक हुने उडानसमेत प्रभावित भएका थिए ।

पश्चिम तराईका जिल्ला बुटवल, दाङ, नेपालगन्ज, कोहलपुर, बर्दिया, धनगढी, महेन्द्रनगरमा चिसो पहिलोभन्दा केही बढेको थियो । नेपालगन्जमा मंगलबार बिहानदेखि रातिसम्म अत्यधिक चिसो नै भएको थियो ।

हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि हिमपात हुँदा घर बाहिर निस्किनसमेत समस्या भएको छ । 

चिसोले ज्यालादारी काम गरेर खाने वर्गलाई समस्या भएको छ । उनीहरु चिसोले गर्दा काममा निस्किन सकेका छैनन् । चिसो बढेसँगै पश्चिम जिल्लामा रुघाखोकीलगायतका संक्रमण देखिएको छन् ।

यसैबीच, शीतलहर शुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ । मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो । 

चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुनेक्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन् । 

शीतलहर चलेर चिसो बढ्न थालेपछि जिल्लाका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउने उपाय अपनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

उनले चिसो तथा शीतलहरका कारण जोखिममा पर्नसक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चलाउन स्थानीय तहलाई आग्रह गरिएको बताए ।

Duduwa Tato hawa Bachau Image

भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले चिसो सुरु भएदेखि नै भेरी अस्पतालमा चिसोको कारण हुने समस्या लिएर बिरामी आउन थालेको बताए । उनले रुघाखोकी, ज्वरो, निमोनिया र पखाला जस्ता रोगले ग्रस्त बनाएपछि बालबालिका अस्पताल पुगेका छन् । चिसो बढेसँगै नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले जानकारी दिए ।