लुम्बिनी कप फागुन १९ गतेदेखि
नेपालगन्ज १० पुष : लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएकोछ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा नेपालगन्जस्थित महेन्द्र रंगशालामा हुने उक्त फुटबलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई सोमबार पत्रमार्फत लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए ।
यस अघि गत मंसिर १६ गते नेपाली महिला फुटबल राष्ट्रिय टिमकी पहिलो क्याप्टेन रमासिंह र वर्तमान क्याप्टेन एन्जिला तुम्वापो सुव्वाले संयुक्तरुपमा राजधानी काठमाण्डौंमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका थिए । लोगोमा शान्तिका अग्रदुत भगवान गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झण्डाको रङ्ग नीलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।
सो अवसरमा दुवै क्याप्टेनले खुशी व्यक्त गर्दै प्रतियोगिता महिला फुटबलको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्तगरेका थिए ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एन्फालाई विशेष धन्यवाद दिंदै बाँके जिल्ला फुटबल संघ र अन्तरालको संयुक्त प्रयासबाट लुम्बिनी कपले साकार रुप लिन लागेको बताए ।
‘लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्ने निश्चित छ’– शाहले भने –‘फुटबल मात्रै होइन, पश्चिम नेपालकै पर्यटन विकासमा समेत यो कोशे ढुंगा बन्नेछ ।’ प्रतियोगिता सफल पार्न बाँके र लुम्बिनी प्रदेशका सरोकारवाला सबैलाई हार्दिक अपील गर्दछौं’–अन्तरालका शाहले भनेका छन् ।





0 Comments