मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग

मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग

नेपालगन्ज १० पुष : अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो । गत पुष ४ गते ई–रिक्सा चालक श्रीवास्तवले आत्महत्या गरेका थिए ।

नेपालगन्ज–६ फुल्टेक्रास्थित डेराको कोठामा बस्दै आएका श्रीवास्तवको परिवारमा आर्थिक समस्याका कारण काजकिरियामा समेत समस्या आएपछि सङ्घले आर्थिक सहयोग गरेको हो । 

अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँके अध्यक्ष धिरज प्रताव सिंहले आर्थिक अवस्था कमजोर भएका कारण अन्तिम दाहसंस्कार समेत समस्या भएको खबर सुनेपछि सहयोग गरेको बताए ।

उनले भने, ‘उहाँ सङ्घको सदस्य होइन् तर, ई–रिक्सा चालक हो । हामी ई–रिक्सा चालक र धनीहरूको हक–हितका लागि काम गरिरहेको छौं । अहिले तत्कालका लागि यो रकम सहयोग गरेका छौं । आवश्यकता अनुसार उहाँको परिवारलाई सङ्घले सक्दो सहयोग गर्नेछ ।’

सङ्घको टोलीले शनिबार बिहानै श्रीवास्तवको डेरामा गएर आर्थिक सहयोग रकम प्रदान गरेको थियो । स्व. श्रीवास्तवको परिवारमा श्रीमती फूल कुमारी र पाँच वर्षीय छोरा आरुस छन् ।

अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेका महासचिव कुमार सिंह ठकुरीले ई–रिक्सा चालकहरूलाई पर्ने समस्यालाई समाधान गर्न सङ्घले सधैँ सक्रियता देखाउँदै अगाडि बढेको बताए ।

उनले भने, ‘ई–रिक्सा चालकहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सङ्घले सक्रिय भएर काम गरेको छ । ई–रिक्सा चालकहरूले पनि दुर्घटना बिमा गर्नमा चासो दिनुपर्छ । भविष्यमा आउने घटनामा बिमाले धेरै सहयोग गर्छ । मानिसलाई कतिबेला के पर्छ भन्ने थाहा हुँदैन् । त्यसैले सबै ई–रिक्सा चालक र धनीलाई म वीमा गर्न अनुरोध गर्दछु ।’

स्थानीय समाजसेवी एवम् औषधी व्यवसायी प्रदीप साहले अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले गरेको आर्थिक सहयोग अप्ठ्यारो समयमा काम लागेको बताए । उनले भने, ‘सङ्घको सम्पूर्ण कार्यसमितिलाई म धन्यवाद दिन चाहन्छु । मृतक श्रीवास्तवको आर्थिक अवस्था निकै दयनीय छ । दाहसंस्कार समेत हामीले सहयोग उठाएर गरेका थियौं । सङ्घले अप्ठ्यारो समयमा आर्थिक सहयोग गरेको छ । यो जस्तो पुण्य काम अरू केहि हुन सक्दैन् ।’

Duduwa Tato hawa Bachau Image

सहयोग प्रदान गर्ने क्रममा अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेका उपाध्यक्ष सहादत अली शाह, उप–महासचिव एजाज बाबु जोलाह, सल्लाहाकार निजाम इद्रिसी लगायतको सहभागिता रहेको थियो ।