तीन जना स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित विदाई
- | नेपाखबर | स्वास्थ्य
- २० मंसिर २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज २० मंसिर : नेपालगन्ज उपमहानगरपालिकाले तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई गरेको छ । २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरमा कार्यरत तीन जना स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको हो ।
६० वर्ष उमेर पुगेका वडा नम्बर–१० की बिना थापा मगर, वडा नम्बर –१४ की सुरसती बृजबासी र वडा नम्बर–९ की मिना कुमारी विश्वकर्मा चौधरीलाई विदाई गरिएको हो ।
नगर प्रमुख प्रशान्त विष्टले उनीहरुलाई दोसल्ला ओढाई सम्मानपत्रसहित विदाई गरेका हुन् । विदाई भएका उनीहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट ५० हजार रुपैयाँ पाउँछन् ।
६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाले विदाई भएसंगै संघीय सरकारको तर्फबाट ५० हजार, नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २० हजार गरी १ लाख २० हजार रुपैयाँ पाउँछन् ।
सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरमा कार्यरत सबै स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १९२ जना स्वयंसेविका कार्यरत छन् । बाँके जिल्लामा ७८५ जना स्वयंसेविका छन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विष्टले समुदायस्तरमा स्वास्थ्य सूचक प्रबर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाले अहम् भूमिका खेलेको बताए ।
उनले स्वयंसेविकाको बीमाका लागि पनि नेपालगन्ज उपमहानगरपालिकाले योगदान गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य स्वयंसेविकाको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मातृ मृत्युदर रोक्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अहिलेसम्मको भूमिकाको सराहना गर्दै अझ गहन ढंगले सेवाभावका साथ मानव सेवामा जुट्न आग्रह गरे ।
यस्तै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका अधिकृत धनराज शाही, वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबी, कार्यपालिका सदस्य संगिता रेग्मी, प्रहरी निरीक्षक शिवा थापा लगायतले समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे चर्चा गरेका थिए ।





0 Comments