लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान शुरु

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान शुरु

नेपालगन्ज २० मंसिर : लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ ।

‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको खजुरामा औपचारिक कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विषादी सचेतना अभियान सञ्चालन गरेको कृषि विकास निर्देशनालय लुम्बिनीका महानिर्देशक यमनारायण देवकोटाले जानकारी दिए ।

‘बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै रासायनिक विषादीको विकल्पसहितको सचेतना कार्यक्रम सुरु गरेका छौँ’, देवकोटाले भने, ‘कसैले जानेर त कसैले अन्जानमा विषादीको प्रयोग गरिरहेका छन्, सुरक्षित विषादीको प्रयोग कसरी गर्ने र यसको जोखिमबाट कसरी बच्ने भन्ने विषयमा यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।’

बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएको र हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर यो कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । अभियानअन्तर्गत हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रमलगायत गतिविधि गरेर व्यापक जनचेतना फैलाइने जनाइएको छ ।

विषादीको बढ्दो अनुचित प्रयोग कम गराउने, कृषि उपज उत्पादकलाई विषादीको नकारात्मक असरबारे जानकारी गराउने र सुरक्षित राख्ने, तरकारी तथा फलफूल उपभोक्ताको सुरक्षा गर्ने, किसानको अनावश्यक आर्थिक नोक्सानी हुन नदिने, विषादी प्रयोगकर्तालाई सबैको स्वास्थ्यप्रति संवेदनशील हुन सचेत गराउने, सुरक्षित विषादीको प्रयोगसम्बन्धी जनचेतना फैलाइ स्वस्थ बाली उत्पादनको  सन्देश प्रवाह गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको महानिर्देशक देवकोटाले बताए ।

कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग हुने गरेको बताए ।

Duduwa Tato hawa Bachau Image

विषादीको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नहुनु, जानकार किसान लापरबाही हुनु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउविजनको बढी विश्वास गर्नु, सबै विषादीलाई मिसाएर प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनुलगायत कारणबाट प्रयोगकर्ता विषाक्त हुँदै गएको उनको भनाइ छ । -रासस