सडकमा फोहोर फाल्नेलाई मेडिकललाई ५ हजार जरिवाना
- | अर्थ | नेपाखबर | स्वास्थ्य
- १८ मंसिर २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज १८ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकल हललाई जरिवाना गराइएको छ ।
त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फोलेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए ।
स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि’ नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोद कुमार गुप्तालाई जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली बिहान अनुगमनमा गएको थियो ।
यसअघि पनि एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । त्यसअघि मंसिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ ।
नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताउँदै उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गए ।





0 Comments