उर्लिएको राप्तीमा जोखिम मोलेर दाउरा झिक्दै स्थानीय
- | नेपाखबर
- २३ असार २०८१, आइतवार
- नेपाखबर
नेपालगन्ज २३ असार : वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । तर, स्थानीयलाई त्यसको कुनै प्रवाह छैन । उर्लिएको राप्तीको बहावमा सँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।
दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय बिहानदेखि दिनभर व्यस्त रहे । बाढीमा बगेर आएको दाउरा सङ्कलन गरि आफ्नो जोह टार्न यतिबेला वर्षाको पानी र उर्लिएको राप्तीलाई नजरअन्दाज गर्दै बालबालिकादेखि बृद्धसम्मको घुइँचो देख्न सकिन्छ । स्थानीयले बाढीमा बगदै गइरहेका दाउरालाई ‘कैँची’ (लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।
डुडुवा–४ का रेनु सोनीले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताइन् । उनले अहिलेसम्म करिब आठ क्विन्टल दाउरा जम्मा गरेको बताइन । सोनीले सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको बताईन ।
सोनी जस्तै सोही गाउँपालिका–६ का जनकरानी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानसहित नदी छेउमा देखिए । ‘घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ’, उनले भनिन्, ‘बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ? तर, पनि दाउरा जोहो नगरेर हुँदैन ।’ जनकरानीले करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताईन ।
यसरी ज्यान नै धरापमा पारेर उर्लिएको नदीबाट दाउरा संकलन गरि उनीहरुले बेच्ने गर्छन । केही दाउरा आफ्ना लागि साँचेर राख्ने गरेका उनीहरुको यस्तो कार्यले दुर्घटनाको जोखिम बढाएकोछ ।
जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरी यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ गरिएको छ । गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा आवश्यकसामग्रीसहित उद्धार टोली खटाएको हो ।





0 Comments