बैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

प्रमुख वाचक दीनबन्धु पोखरेलले समेत गरे बैकुण्ठधामलाई दान
बैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

नेपालगन्ज ३० कार्तिक : प्रस्तावित बैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी बैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न भएको छ । २२ गतेबाट सुरु भएको महोत्सव आज सम्पन्न भएको हो । 

राप्ती तटको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको उद्देश्य सहित शुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको आयोजक बैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको दिनमा पनि ३० लाख बढी दानताहरुबाट दान प्राप्त भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । 

नियमित भागवत प्रवचन बिहीबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणी पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिएका थिए ।  

प्रवचनका क्रममा उनले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताए । आध्यात्मलाई भौतिक विकास र समतामुलक समाजको परिकल्पना सहित आफ्नो बावुले थालेको अभियानलाई पूर्णता दिन मात्र आफुले कथा प्रवचनको बाटो अवलम्बन गरेको उनले बताए । 

उनले प्रवचनकै क्रममा बैकुण्ठधाम निर्माणका लागि आफुले एक लाख ११ हजार १११ रुपैयाँ दान गर्ने घोषणा पनि गरे । कार्यक्रमको समापनका दिन शुक्रबारपनि दाताहरुले ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । 

समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको बताए । उनले स्थानीय सरकारबाट बैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता जनाउँदै यसपछि पनि दानदाताहरुले धाम निर्माणका लागि दान गर्न सक्ने स्पष्ट पारे । 

शुक्रबारको कथावाचनका बीच डा. कुमार शान शाह र डा. मञ्जु बिसी शाहबाट ७ लाख ७७ हजार ७७७ रुपैयाँ दान गरे । त्यसैगरि आयोजक समितिकी सह–संयोजक तथा एबिसी माबीकी प्रमुख शशी स्वाँरबाट एक लाख ५१ हजार १११, महासचिव श्रीराम सिग्देलबाट एक लाख ५१ हजार १११, मिनबहादुर मल्लबाट एक लाख २५ हजार, कन्हैयाला बैद्यबाट एक लाख २१ हजार, अल्पना गुप्ताबाट एक लाख ११ हजार १११ रुपैयाँ, बुद्धिवल श्रेष्ठबाट एक लाख ११ हजार १११, एसियन ब्लु क्यासिनोबाट एक लाख १ हजार, अशोक बस्नेतबाट एक लाख १ हजार प्रदान भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताए । 

त्यस्तै महोत्सव सचिवालयका ओबिराज आचार्यबाट ७५ हजार, सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीबाट ६५ हजार ५५५, पतञ्जली योग समितिबाट ६३ हजार ३८५, कर्मचारी मिलन केन्द्रबाट ५५ हजार ५५५, भीम सुबेदीबाट ५५ हजार ५५५, डा. सुर्यलाल वर्मा र उर्मीलादेवी वर्माबाट ५१ हजार १११, राकेश कुम्हनलबाट ५१ हजार १११, अमरजित सिंहबाट ५१ हजार, विजय गुप्ता र दिपेश गुप्ताबाट ५१ हजार दान गरे ।

मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका कर्मचारीहरुबाट ४२ हजार ९१५, जिल्ला हुलाकका कर्मचारीबाट ४१ हजार ५५५, सशस्त्र प्रहरी बल ३० नम्बर गणको तर्फबाट ३५ हजार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३५ हजार, योग समितिका तर्फबाट ३१ हजार ५५५, लक्ष्मी नारायण समितिका तर्फबाट ३१ हजार ५५, आन्तरिक राजश्व कार्यालयका तर्फबाट ३० हजार, आदर्शमाबी शिक्षक परिवार २७ हजार दान प्राप्त भएको श्रेष्ठले बताए । 

उनका अनुसार तेजबहादुर चन्दबाट २५ हजार ५, साबित्रा शर्मा रिजालबाट २५ हजार १, हरपाल सिंहबाट २५ हजार, दिवस सिंह हमालबाट २५ हजार दान गरेका थिए । 

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको अन्तिम दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । 

नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए । संगीतमय भजनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विमल डाँगी सहित वाचन शिरोमणी पोखरेल छमछमी नाचेका थिए । 

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै शुक्रबारपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

संकलित रकमको पूर्ण विवरण संकलन भइरहेकाले आर्थिक संकलनको पूर्ण विवरण एक महिनाभित्र सार्वजनिक गरिने आर्थिक संयोजक श्रेष्ठले बताए । भूमीदान र प्रतिबद्धताको रकमरहित ३ करोड लगभग महोत्सवबाट संकलन भएको उनले बताए । 

Duduwa Tato hawa Bachau Image

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा– ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।