बाँकेमा ४० हजार क्विन्टल धान खरिद गरिदैँ

बाँकेमा ४० हजार क्विन्टल धान खरिद गरिदैँ

नेपालगन्ज २२ कार्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष किसानसँग ४० हजार क्विन्टल धान खरिद गर्दैछ ।

यस वर्ष कम्पनीले बाँकेका किसानहरुसँग ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।

‘यस वर्ष हामीले बाँकेका किसानसँग ३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेका छौँ ।’

मुख्य शाखा प्रमुख लामिछानेले भने, ‘मोटा धानको तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गर्ने तयारी गरेका छौँ ।’

गतवर्ष लक्ष्य लिइएको भन्दा निकै कम मात्रामा धान खरिद भएको उनले जानकारी दिए । ‘गत साल हामीले ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, तर लक्ष्यभन्दा निकै कम जम्मा आठ हजार क्विन्टल मात्र धान खरिद गर्न सक्यौँ,’ लामिछानेले भने, ‘गत वर्ष सरकारले तोकेको मूल्यभन्दा बजारमा किसानहरुले धेरै मूल्य पाए र बजारका गल्ला व्यापारी र मिलहरुमा लगेर बिक्री गरे, हामीले न्यून मात्रामा खरिद गर्न सक्यौँ ।’

गत वर्षभन्दा यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्य पनि बढाएको र धान खरिद पनि अगाडिबाट नै सुरु गरिएको हुँदा लक्ष्य पूरा गर्न सकिने आशा गरिएको उनको भनाइ छ ।

‘गत वर्षभन्दा यस वर्ष सरकारले पनि न्यूनतम समर्थन मूल्यमा वृद्धि गरेको छ, गत वर्षभन्दा यस वर्ष धान खरिद पनि छिटो सुरु गरेका छौँ, त्यसकारण यस वर्ष लक्ष्यमा पुगिन्छ भन्ने आशा गरेका छौँ,” लामिछानेले भने, ‘गत वर्ष मङ्सिर ६ गतेबाट धान खरिद सुरु गरेका थियौँ, यस वर्ष भने १५ दिन अगावै कार्तिक २० गतेदेखि नै शुरु गरेका छौं ।’

खाद्यमा धानको क्वालिटी लगायतको मापदण्ड, स्थानीय तहको सिफारिसलगायतका प्रक्रिया हुने भएर पनि धेरै किसानहरु सोझै बजारका व्यापारी र मिलहरुमा पुग्ने गरेको र सरकारको भन्दा बजारमा मूल्य पनि बढी पाउँदा उतै आकर्षित हुने गरेको पनि उनले बताए ।

‘हामीले काँटा लगाएर खरिद गर्नु अगाडि बजारका व्यापारीहरुले आफ्नो मूल्यमा सस्तोमा धान खरिद गर्ने गर्छन्, जब हामीले काँटा लगाएर खरिद सुरु गर्छौँ, उनीहरुले हाम्रोभन्दा बढी मूल्य किसानलाई दिन्छन् र किसान उतै जान्छन् । किसानले राम्रो मूल्य पाउनु खुसीकै कुरा हो, यसले हाम्रो लक्ष्य पूरा नभए पनि उनीहरु सन्तुष्ट हुन्छन्, यसैकारण यस वर्ष लक्ष्य पनि घटाइएको हो,’ उनले भने ।

Duduwa Tato hawa Bachau Image

कार्तिक २० गते हिजो मङ्गलबारबाट धान खरिद सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीको कारकाँदोस्थित कार्यालय परिसर र साबिकको नेशनल ट्रेडिङ लिमिटेडमा खरिद केन्द्र राखेर किसानहरुसँग धान खरिद भइरहेकोछ । धान बिक्री गर्न ल्याउँदा किसानले आफ्नो सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिसपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।