सरकार ढाल्ने सपना नदेख्न चेतावनीदेखि सहकारी ठगीमा कारबाहीदेखि अर्थतन्त्र सुधारको संकेतसम्म

सरकार ढाल्ने सपना नदेख्न चेतावनीदेखि सहकारी ठगीमा कारबाहीदेखि अर्थतन्त्र सुधारको संकेतसम्म

नेपालगन्ज ७ कार्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले १०० दिनमा लक्ष्य लिएकामध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । १७ वर्षदेखि बाँकी रहेको शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउन आफू सफल भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले १०० दिनमा सहकारी ठगमाथि कारबाही अगाडि बढेको तथा अर्थतन्त्रमा सुधारको संकेत देखिँदा व्यवसायी उत्साही भएको बुधवार पत्रकार सम्मेलन गर्दै दाबी गरे ।  

‘नयाँ भन्दा थालेका कामलाई योजना बनाएर अगाडि बढेका थियौं । यसैका आधारमा मन्त्रीसँग कार्यसम्पादन सम्झौता भएको थियो,’ उनले भने, ‘सय दिनभित्र गर्न सकिने कामलाई प्राथमिकतामा राख्दा गर्ने भनिएका २७४ वटा काम थिए । जसमा ७० प्रतिशत अर्थात १८५ वटा काम गरिसकेका छौं ।’ 

गत असार ३० गते सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँग मिलेर सरकार बनाएको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यस्तो दाबी गरेका हुन् । 

सो अवसरमा उनले उखु र दुग्ध किसानलाई भुक्तानी गरेको, वीमाको रकम, रासायनिक मल ल्याउने प्रबन्ध र ठेकेदारलाई भुक्तानीसहितको काम गरेको बताए ।  

प्रधानमन्त्री ओलीले सरकारको रफ्तारमा बाढी र पहिरोपछिको बिपत्तिले ब्रेक लगाएको पनि उल्लेख गरे । 

बिपत्तिबाट प्रभावितलाई तत्काल राहत, उद्धार र पीडित परिवारलाई प्रारम्भिक राहतको कार्यक्रम अगाडि बढाएको पनि उनले बताए । गत असोजको दोस्रो साता आएको बाढीपहिरोको बिपत्तिमा परी निधन भएका ३९१ व्यक्तिको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइएको उनले जानकारी दिए । 

दुई हजार ५५५ परिवारलाई ४ करोड ५० रुपैयाँ राहत दिएको पनि प्रधानमन्त्री ओलीले बताए । संकटग्रस्त ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ राहत दिएको उनको भनाइ छ । सडक, खानेपानी, बिजुलीसहितका पूर्वाधार निर्माण १५ दिनभित्र सकाउन निर्देशन दिएको पनि उनले बताए ।

रुकुम, बझाङ र बाजुरामा गएको भूकम्पपछिको पुनर्निर्माणका लागि १५ दिनभित्र दोस्रो किस्ता पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे । 

३५ जिल्लामा ३० लाख दुग्ध किसानमध्ये १५ लाखले भुक्तानी पाएको दाबी पनि प्रधानमन्त्री ओलीको छ । यसको ६० करोड निकासा भएको उनको भनाइ छ । ७५ हजार उखु किसानले पनि भुक्तानी पाएको प्रधानमन्त्रीको भनाइ छ । 

कृषिबाली र पशुधन बीमा लागि ८० करोड रुपैयाँ वीमा प्राधिकरणको खातामा सरकारले पठाएको छ । निर्माण सम्पन्न गर्ने व्यवसायीलाई ६ अर्ब ७५ करोड रुपैयाँको भुक्तानी पनि सरकारले यही १०० दिनमा गरेको छ । 

१६५ युवालाई २५ लाखको दरले स्टार्टअप कर्जा दिएको र थप ५ हजार १५८ जनालाई पुस मसान्तभित्र कर्जा दिने प्रधानमन्त्रीको भनाइ छ । 

सातवटै प्रदेशमा जलनको निशुल्क उपचार गरिएको सरकारले जनाएको छ । क्यान्सर रोगको उपचार तीनवटा प्रदेशबाट सात वटामा विस्तारलाई पनि सरकारले स्वास्थ्य क्षेत्रको उपलब्धि मानेको छ । देशभरका १९ वटा संघीय अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा र १८ वटा संघीय अस्पतालमा सहज उपचार सेवाका लागि टोकन प्रणाली लागू गरिएको सरकारको भनाइ छ । 

ट्रायल पास गर्नासाथ नागरिक एपमा लाइसेन्स पाउने, सवारी नियम उलंघन भएकै ठाउँबाट जरिवाना रकम तिर्न सकिने, सरकारी फाइलको अवस्था घरबाटै बुझ्न सकिने, २६७ वटा मालपोत कार्यालयमा ज्येष्ठ नागरिक, अपागंता भएका र अशक्त नागरिकले लाइन नबसी सेवा पाउने विषयलाई पनि सरकारले उपलब्धिमा राखेको छ । वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारलाई ७ लाख रुपैयाँ दिइँदै आएकोमा १० लाख पु¥याउने सरकारले घोषणा गरेको छ । कात्तिक २४ देखि भैरहवाबाट फ्लाई दुबई र जजिरा एयरलाइन्सले उडान गर्ने विषय पनि सरकारको उपलब्धिमा उल्लेख छ । 

सरकार ढाल्ने सपना नदेख्न चेतावनी

मन्त्री र सचिवहरूलाई राखेर आधा घण्टा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकताविरुद्ध बनेको सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरे । 

‘काँग्रेस र एमाले लोकतन्त्रका लागि लामो संघर्ष गरेका दल हुन् । यी दुवै लामो इतिहास भएका दल हुन् । प्रतिस्पर्धी दल हुन् । तर, देश अप्ठ्यारोमा पर्दा मिल्छन् । स्थिरता र विकासमा एक हुन्छन्,’ उनले भने, ‘अराजकता र बिथोलिएको अवस्थालाई सम्हाल्न आएका हौं । यसैले सरकार अहिल्यै ढल्छ भन्ने दिवास्वप्न कसैले नदेखे हुन्छ ।’ 

सरकार बनेकै दिनदेखि विरोध शुरू गरेर साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट सभ्यता र संस्कृतिमाथि हमला गर्ने, अर्थतन्त्र र तहनहस गराउने प्रपञ्च भएपनि त्यसलाई असफल बनाएर सरकार अगाडि बढेको प्रधानमन्त्रीले बताए । 

अर्थतन्त्रमा सुधारका संकेत

सय दिनमा सरकारले अर्थतन्त्रमा सुधारका संकेत देखिएको दाबी गरेको छ । 

दुई सय उद्योगमा ३४ अर्ब रुपैयाँको प्रतिवद्धता आएको र शेयर बजार बढेकोलाई सरकारले सुधारको संकेत भनेको छ । भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार र टर्मिनल भवन बनाउनका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनसँग सम्झौता भएको सरकारको भनाइ छ । 

संघीय सरकारी खर्च वृद्धि भइ ३२९ अर्ब पुगेको र राजस्व ३ प्रतिशतले वृद्धि भएर २४८ अर्ब पुगेको तथ्य सरकारले प्रस्तुत गरेको छ । 

यस्तै फास्ट ट्रयाक र सिद्धबाबाको सुरुङको प्रगतिलाई पनि सरकारले उपलब्धि मानेको छ । 

छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएको घोषणा प्रधानमन्त्री ओलीको छ । 

Duduwa Tato hawa Bachau Image

सहकारी ठगीविरुद्ध कारबाही 

प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्नेमाथिको कानूनी कारबाही सरकारको अर्को उपलब्धि मानेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेकोतर्फ संकत गर्दै ओलीले ६०० भन्दा बढी ‘सहकारी ठग’हरू कानूनी कारबाहीमा परेको दाबी गरेका छन् । 

‘सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढेको छ । हालसम्म ६०० भन्दा बढीलाई कानूनी कारबाही गरिएको छ । ५७५ भन्दा बढी त जेलमै छन्,’ ओलीले भनेका छन्, ‘सहकारी ठगलाई कारबाही गर्नेमात्रै होइन बचतकर्ताको बचत फिर्ता आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै भएको छ ।’ 

प्रधानमन्त्री ओलीले सय दिन सकिए पनि बाँकी अवधिमा गर्ने कामको योजना अब शुरू भएको बताएका छन् । 

‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट शुरू हुन्छन्,’ प्रधानमन्त्री ओलीले सम्बोधनको बिट मार्दै भने, ‘बितेका सय दिनमा हामीले बिपत्तिका बीच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’