भेरीमै हुने भयो एमडी र एमएसको पढाई

भेरीमै हुने भयो एमडी र एमएसको पढाई

नेपालगन्ज ११ असोज : नेपालगन्जस्थित भेरी अस्पतालमा अब एमडी र एमएस विषयको पढाई हुने भएकोछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबीच काठमाडौंमा शुक्रबार सम्झौता भएसँगै उक्त विषयको पढाई हुने बाटो खुलेको हो ।

न्याम्सका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीबीच सम्झौता भएको छ । लामो समयको प्रतिक्षापछि भेरी अस्पतालमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्न बाटो खुलेपछि यसक्षेत्रका विद्यार्थीलाई सहज हुनेभएकोछ ।

सम्झौतापछि न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकबाट औपचारिक रुपमा पारित गर्ने तयारी रहेको छ । प्रमुख मेसु डा. सुवेदीले भने, ‘न्याम्स र भेरी अस्पतालबीच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ ।’ आगामी असोज २१ गते बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित हुने उनले बताए ।

एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने डा. सुवेदीको भनाई छ । नेपालकै पुरानो सरकारी अस्पताल भएपनि भेरीमा वर्षौअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयासले सार्थकता पाउन सकेको थिएन । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालका रुपमा रहनेछ । संघीय सरकारको मातहतमा रहेको उक्त अस्पताललाई राज्य पुर्नसंरचना भएसँगै लुम्बिनी प्रदेश सरकारको मातहतमा केही समय राखिएको थियो, पछि पुनः अस्पताललाई संघीय सरकारकै मातहतमा राखिएको हो । 

यता अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको पढाई सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाई थप बृद्धि हुने बताए । आफु नेतृत्वमा आएपछि अस्पताल भित्रका थुप्रै कुरा सुधारउन्मुख रहेको दाबी गर्दै अध्यक्ष शाहले अगाडी थपे, ‘यहाँ अब एमडी र एमएस विषयको पढाई हुने भएपछि अस्पतालले थप उचाई हाँसिल गर्नेछ ।’

Duduwa Tato hawa Bachau Image

सम्झौताका क्रममा न्याम्सका शिक्षा अध्यक्ष प्रा.डा. लोचन कार्की, डिन डा. अशिष ढुंगाना, सहायक डिन डा. विकास विक्रम अधिकारी र डा. राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए । न्याम्सले अहिलेसम्म वीर अस्पताल, भरतपुर अस्पताल र कोसी अस्पताललाई मात्र एमडी र एमएस विषय अध्यापनका लागि स्वीकृति दिएको बताइएको छ ।