ग्रेटर नेपालका पक्षमा वकालत गर्दै आएका फणीन्द्र नेपालको एकाउन्ट हटाउन भारतले एक्सलाई लेख्यो पत्र, नेपाल सरकार मौन

ग्रेटर नेपालका पक्षमा वकालत गर्दै आएका फणीन्द्र नेपालको एकाउन्ट हटाउन भारतले एक्सलाई लेख्यो पत्र, नेपाल सरकार मौन

नेपालगन्ज १ असोज: अभियन्ता फणीन्द्र नेपालको एक्स (पहिले ट्वीटर) को एकाउन्ट हटाउन भारत सरकारले पत्राचार गरेको खुलेको छ ।

लामो समयदेखि ग्रेटर नेपालका पक्षमा वकालत गर्दै आएका नेपालले एक्समा गरेको पोष्टहरुले भारतको सूचना प्रविधि ऐन, २००० को उल्लंघन गरेको भन्दै पत्र लेखेको एक्सले नेपाललाई ईमेलमार्फत् जानकारी दिएको छ ।

‘पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’, उनलाई आएको इमेलमा भनिएको छ ।

त्यसअनुसार आफ्नो एक्स एकाउन्टलाई भारतभरि ‘विथहेल्ड’ (रोकिएको) नेपालले बताए । ‘त्यही इमेलको पछाडि मेरो एकाउन्टलाई भारतभर रोकिएको भनिएको छ’, उनले भने, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’

उनले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको बताउँदै थपे, ‘म एन्टी इन्डियन होइन, प्रो नेपाल हो । तर, परिस्थिति कस्तो भयो भने प्रो नेपाल हुनुचाहिँ एन्टी इन्डियन हुन्छ ।’

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान चलाउँदै आएका छन् ।

त्यसक्रममा उनले भारतबाट उच्च पदस्थ अधिकारीहरुको भ्रमण हुँदा समेत सधैँ विरोध प्रदर्शन गर्ने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेका छन् ।

Duduwa Tato hawa Bachau Image