लुम्बिनी प्रदेशभरी १८ प्रतिशत मात्रै धान रोपाइँ

लुम्बिनी प्रदेशभरी १८ प्रतिशत मात्रै धान रोपाइँ

नेपालगन्ज १७ असार : लुम्बिनी प्रदेशमा धान रोपाइँ जम्मा १८ दशमलव ५० प्रतिशत भएको छ। लामो समय खडेरी परेका कारण किसानले समयमै धान रोपाइँ गर्न पाएनन्। असार १५ सम्म पहाडी जिल्लामा धान रोपाइँ राम्रो देखिएपनि तराईका जिल्लामा भने निकै कम रोपाइँ भएको देखिएको हो।

लुम्बिनी प्रदेशमा ६ लाख ७९ हजार ६ सय १३ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमा मात्रै धान खेती हुँदै आएको छ। अहिले सम्म प्रदेशका १२ जिल्लामा ५७ हजार ६ सय ६७ हेक्टर जमिन अर्थात १८ दशमलव ५० प्रतिशत मात्रै धान रोपाइँ भएको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। ढिलोगरी वर्षा सुरु भएका कारण धानको बीउ राखेका किसानले समेत धान रोपाइँ गर्न पाएका छैनन्।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्युठान र सबैभन्दा थोरै बाँके जिल्लामा धान रोपाइँ भएको छ। प्युठानमा वर्खे रोपाइँ ८० प्रतिशत भएको छ भने बाँके जिल्लामा जम्मा २ प्रतिशत रोपाइँ भएको मन्त्रालयका प्रवक्ता सन्देश धितालले जानकारी दिए। सिँचाइ सुविधा पुगेका पहाडी जिल्ला रोल्पामा ७५ प्रतिशत, नवलपरासी पश्चिममा ५८ प्रतिशत, बर्दियामा २३ दशमलव ८ प्रतिशत, रुपन्देहीमा २३ प्रतिशत, अर्घाखाँचीमा २२ प्रतिशत, रुकुमपूर्व र गुल्मीमा ११ प्रतिशत, दाङमा १० प्रतिशत धान रोपाइँ भएको छ। पाल्पामा ९ प्रतिशत र कपिलवस्तुमा जम्मा ४ प्रतिशत धान रोपाइँ भएको छ।

लुम्बिनीमा बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको सरकारले जनाएको छ। जहाँ सतह र भूमिगत सिँचाइको सुविधा पुगेको छ त्यस ठाउँका किसानले भने बर्खे धानखेती गरिरहेका छन्। बाँकी किसानले पानी पर्खेर बसेका छन्। असार १५ लाई सरकारले धान दिवसको रूपमा मनाउँदै गर्दा लुम्बिनी प्रदेशमा सिँचाइ अभावका कारण किसानले चाहेको जसरी वर्षे धान लगाउन भने पाएका छैनन्।

Duduwa Tato hawa Bachau Image