पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा, अन्योलमा अधिवेशन

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा, अन्योलमा अधिवेशन

नेपालगन्ज २५ भदौ : नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सोमबार राजीनामा बुझाएका हुन् । 

अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । 

महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।

‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।

सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्,‘ यी सबै अबस्था आउनुमा मेरो कमजोरीलाई स्विकार गर्दै सबै कुराको नैतिक जिम्मावारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।’

पत्रकार महासघको आईतबार केन्द्रिय समितिको बैठक बसेको थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रिय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।

Duduwa Tato hawa Bachau Image