नेपालगन्ज–कोहलपुर बस दुर्घटना : तीन जनाको मृत्यु, २६ जना घाइते
बसको पट्टा भाँचिदा दुर्घटना भयो, चालक प्रहरी नियन्त्रणमा
- | नेपाखबर | अपराध–घटना
- १३ भदौ २०८१, बिहिवार
- नेपाखबर
नेपालगन्ज १३ भदौ : दाङबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रु बाहक बस बिहीबार ‘अपत्यारिलो’ ठाउँमा पल्टियो ।
गन्तव्यमा पुग्न करिब ४ किलोमिटर दुरी बाँकी रहँदा भएको दुर्घटनामा यो समाचार तयार पार्दासम्म ३ जनाले अकालमा ज्यान गुमाई सकेका छन् । उक्त दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् । दुर्घटना स्थल नेपालगन्ज–कोहलपुर (सुर्खेत रोड) सडक अन्तर्गत बाँकेको गनापुरस्थित नमस्ते रेस्टुरेन्ट नजिकै हो ।
चार लेनको उक्त सडकमा यति ठुलो दुर्घटना होला भन्नेमा कसैले पनि कल्पना गरेका थिएनन् । सिधा सडकको लेनमै गुडिरहेको बस एक्कासी दुर्घटनामा प¥यो । दुर्घटनाका घाइते मध्ये २१ जनाको भेरी अस्पताल र ४ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्येकी एक दाङ तुलसीपुर निवासी टंकेश्वरी लामिछानेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
कल्पना नै नगरिएको ठाउँमा दुर्घटना भएको टंकेश्वरीले बताइन् । ‘बस आफ्नै रफ्तारमा गुडिरहेको थियो, अनियन्त्रित भएर एक्कासि बस पल्टियो,’ उनले भनिन् । यति सहज बाटोमा दुर्घटना होला भनेर आफुले कल्पना नै नगरेको टंकेश्वरीको भनाई छ ।
अर्की घाइते भगवती लामिछानेले दाङबाट त्यति अप्ठ्यारो (पहाड) बाटोलाई पार गरेर आएको बस सजिलो बाटोमा दुर्घटना हुनुमा चालकको लापरबाही भएको बताइन् ।
‘यसमा चालकको कहीँ न कहीँ लापरबाही भएको छ, यसको छानबिन गरेर कारबाही हुनुपर्छ,’ उनले भनिन् । अस्पतालमा उपचाररत अधिकांश घाइतेले अकल्पनीय दुर्घटना भएको बताएका छन् । नेपालगन्ज आइपुग्नै लाग्दा भएको दुर्घटनाको अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ ।
उक्त दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली, तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषाल र दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । मृतक ओली र राई बसका यात्रु तथा भुषाल बसका सह–चालक रहेको बुझिएको छ । मृतकको शव पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
अन्य घाइतेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले पनि उपचार चलिरहेको उनले बताए । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तर, चालकले भने बसको पट्टा नै भाँचिएर दुर्घटना भएको प्रहरी समक्ष बयान दिएका छन् ।





0 Comments