जेनजी आन्दोलनको असर : उच्च अदालत नेपालगन्ज इजलासले गर्यो ६२.६० प्रतिशत मुद्दा फछर्यौट

जेनजी आन्दोलनको असर : उच्च अदालत नेपालगन्ज इजलासले गर्यो ६२.६० प्रतिशत मुद्दा फछर्यौट

नेपालगन्ज २ साउन : जेनजी आन्दोलनका क्रममा अदालतको भौतिक संरचना र सयौँ मुद्दाका मिसिल जलेर नष्ट हुँदा समेत उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८२-८३ मा ६२.६० प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको छ ।

कुल २ हजार १ सय ६३ मुद्दा मध्ये लगतको आधारमा १ हजार ३ सय ५४ वटा मुद्दा फछर्यौट गरिएको अदालतका मुख्य भई काम गर्ने न्यायाधीश बामदेव ज्ञवालीले पत्रकार भेटघाटमा जानकारी दिए । 

लगतको आधारमा ६२.६ प्रतिशत मुद्दा फछर्यौैट भएपनि लक्ष्यका आधारमा ७७.७ प्रतिशत फछ्र्यौट गर्न सफल भएको उनले बताए । उक्त आर्थिक वर्षमा अदालतले ७० प्रतिशत अर्थात १ हजार ७ सय ४३ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको थियो । 

अदालतको वार्षिक अनुमानित लगत संख्या २ हजार ४ सय ९० रहेको थियो, भने ६ सय ४२ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए । ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्त सम्ममा अदालतमा १८ महिना पुगेका मुद्दा १५ वटा मात्रै रहेका छन् ।

यस्तै दुई वर्ष नाघेका मुद्दालाई अदालतले शुन्य संख्यामा झारेको जनाएको छ । न्यायाधीश ज्ञवालीले भने, ‘जेनजी आन्दोलनका कारण भौतिक पुर्वाधार र मिसिल जलेका बाबजुद पनि यति मुद्दा फछर्यौट हुनु यो ठुलो उपलब्धी हो ।’ जेनजी आन्दोलनबाट अदालतको भौतिक संरचना र मिसिलमा भएको क्षतिका कारण गतवर्ष भन्दा कम संख्यामा मुद्दा फछर्यौट भएको उनले बताए ।

गत आर्थिक वर्ष २०८१-०८२ मा  अदालतबाट कुल २ हजार ६ सय ४६ मुद्दा मध्ये ७५.७४ अर्थात २ हजार ४ वटा मुद्दा फछर्यौट भएका थिए । त्यसअघि आ.व. २०८०-०८१ मा कुल २ हजार ७ सय ८ वटा मुद्दा मध्ये १ हजार ९ सय ३४ अर्थात ७१.४१ प्रतिशत मुद्दा फछर्यौट भएको अदालतले जनाएको छ । 

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट अदालतका इजलास कक्षहरु अझैँपनि पूर्ण रुपले सञ्चालन हुन सकेका छैनन् । न्यायाधिश ज्ञवालीका अनुसार तीन वटा इजलास कक्ष मर्मत पश्चात सञ्चालनमा आएपनि बजेट अभावका कारण अझै दुई वटा कक्ष मर्मत हुन नसक्दा बन्द अवस्थामा रहेका छन् ।

न्यायाधीश ज्ञवालीले अगाडी भने, ‘आगजानीबाट जलेका मिसिलका कारण मुद्दा फछर्यौट गर्न हामीलाई केही कठिनाई भयो, तरपनि हामीले अदालतको सेवालाई निरन्तरता दिदैँ आएका छौं ।’ 

Duduwa Tato hawa Bachau Image

न्यायाधीश ज्ञवालीले जलेका मिसिलका कारण मुद्दा सुनुवाइमा केही कठिनाइ भए पनि न्याय सम्पादनको काम निरन्तर सञ्चालन गरिएको बताए । साथै न्याय प्रणालीप्रति नागरिकको विश्वास बढाउन अदालत प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले “न्यायाधीश र आम नागरिकबिच अझैँ ठुलो खाडल रहेको छ । घटनाको यथार्थ मिसिलमा समावेश हुन नसके सम्बन्धित पक्षले सही न्याय पाउन सक्दैन, यसप्रति हामी गम्भीर छौँ,” भने ।

नेपालगन्जमा रहेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको बाँके र बर्दिया जिल्ला कार्य क्षेत्र हुन् । हाल उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा ६ जना न्यायाधीश कार्यरत छन् ।

जिल्लागत तथ्यांकअनुसार बाँके जिल्लाका कुल ७ हजार ४८ मुद्दामध्ये २ हजार ७ सय ३३ वटा मुद्दा फछ्र्योट भएका छन् भने ४ हजार ३ सय १४ मुद्दा अझै बाँकी छन् । त्यस्तै बर्दियाका कुल १ हजार ९ सय ९४ मुद्दामध्ये १ हजार ३ सय १२ वटा फछ्र्योट भएका छन् भने ६ सय ८२ वटा मुद्दा बाँकी रहेका छन् ।

पत्रकार भेटघाटमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायधीस मुनेन्द्र अवस्थी, सकुन्तला घिमिरे र कोशल चन्द्र सुवेदी, निमित्त रजिष्ट्रार गम्भिर रानामगर, सूचना अधिकारी बलबहादुर बिष्ट लगायत उपस्थित भएका थिए । भने पत्रकार भेटघाट कार्यक्रम अदालतकी शाखा अधिकृत अमृता केसीले सञ्चालन गरेकी थिइन् ।