बाँकेबाट सातपटक मन्त्री बनेका फत्तेह सिंह थारुको निधन

बाँकेबाट सातपटक मन्त्री बनेका फत्तेह सिंह थारुको निधन

नेपालगन्ज ३२ असार : राप्रपाका संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री, अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८७ वर्षको उमेरमा बिहिबार निधन भएको छ । 

नेपालगन्जको घरवारीटोलस्थित निवासमा हृदयघात भइ उपचारका लागि वेस्टर्न अस्पताल लगिएकोमा उनको निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

उनको अन्तिम दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाट हुने भएको छ । उनका दुई श्रीमती, चार छोराछोरी छन् । स्व. थारु बाँके जिल्ला मात्र नभएर नेपालकै राजनीतिको एक चीरपरिचित व्यक्तित्व हुन् ।

पञ्चायतकालमा उनी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भए भने बहुदलीय व्यवस्थामा २०५१ मा बाँके ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । 

पञ्चायत र बहुदलीय कालमा गरि उनी शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत सातपटक मन्त्री बने ।

नेपालगन्जका साहित्यकार खगेन्द्र गिरि कोपिलाका अनुसार पश्चिम नेपालको थारु समुदायबाट एमए डिएफए गर्ने र तराईमुलको समुदायबाट नेपालको रक्षामन्त्री हुने पहिलो व्यक्ति पनि हुन् । 

Duduwa Tato hawa Bachau Image

उनले पञ्चायतकालमा २०२३ मा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए । तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति र एक पटक गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिको सदस्य पनि भएका थिए ।

विक्रम संवत् १९९६ सालमा बाँकेको थपुवा गाउँ हाल बैजनाथ गाउँपालिकामा थारु जमिनदार परिवारमा उनको जन्म भएको थियो ।