नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता गरिदैँ
नेपालगन्ज ३२ असार : नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गरिने भएकोछ ।
नेपालगन्ज स्विमिङ क्लबको वार्षिक तथा रणनीतिक योजना निर्माण गर्न आयोजना गरिएको बैठकले नेपालगन्जलाई अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगितास्थलका रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो ।
नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशव न्यौपानेका अनुसार पौडी प्रतियोगिता र अभ्यासका लागि नेपालगन्ज रंगशालामा देशकै दोस्रो ठुलो स्विमिंग पुल निर्माण भएको र विभिन्न होटलहरुमा समेत धेरै स्विमिंग पुलहरु रहेकोले यहाँ पौडी प्रतियोगिता गर्न निकै उपयुक्त हुने देखिएको बताए ।
क्लबले जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगिता समेत आयोजना गरिसकेकोले अब अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको योजना बनाएर सोही बमोजिमको तयारी शुरु गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले बताए ।
उनका अनुसार सो बैठकमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने, सुरक्षाका लागि लाइफ गार्ड तालिम सञ्चालन गर्ने र तल्लो तहदेखि नै प्रतिभा पहिचान गर्न बिद्यालयस्तरका खेलाडी खोजी गर्ने जस्ता विविध निर्णयहरु क्लबले गरेको छ ।
नेपालगन्जलाई पौडी खेलको हब बनाउन र यहाँको पूर्वाधारलाई विश्वस्तरमा चिनाउन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ छ ।
क्लबले पौडी पोखरी तथा प्राकृतिक जलाशयहरूमा हुन सक्ने दुर्घटना न्यूनीकरण र सुरक्षा सुदृढ गर्न विशेष लाइफ गार्ड तालिम सञ्चालन गर्ने योजना पनि बनाएको छ । विद्यालय स्तरबाटै नयाँ तथा प्रतिभावान पौडी खेलाडीहरूको पहिचान गरी उनीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गरिने क्लबले जनाएको छ ।
क्लबको यो वार्षिक योजनाले नेपालगन्जको खेलकुद पर्यटनमा नयाँ आयाम थप्ने र स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न मद्दत गर्ने विश्वास लिइएको छ ।





0 Comments