विश्वकपको सेमिफाइनल समीकरण पूरा

विश्वकप फुटबलले यसपालि नयाँ च्याम्पियन नपाउने पक्का
विश्वकपको सेमिफाइनल समीकरण पूरा

नेपालगन्ज २८ असार : जारी  फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । आईतबार बिहान सम्पन्न अन्तिम दुई क्वार्टरफाइनल खेलहरूसँगै अन्तिम चारमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

यसपटक सेमिफाइनलमा पुग्ने चारै टोली पूर्वविजेता राष्ट्र हुन्, जसले गर्दा विश्वकप फुटबलले यसपालि नयाँ च्याम्पियन नपाउने पक्का भएको छ । रोचक कुरा के रह्यो भने फिफा वरीयतामा पुगेका फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डल चार वटै टीमले यसअघि विश्वकप जितिसकेकाछन् ।

वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

आज आईतबार सम्पन्न खेलमा साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डमाथि ३–१ को जितसहित सेमिफाइनल खेल्ने चौथो टोली बन्यो ।

सेमिफाइनल पुगेका यी टोलीमध्ये अर्जेन्टिनाले हालसम्म ३ पटक विश्वकप उपाधि जितेको छ भने फ्रान्सले २ तथा इङ्गल्यान्ड र स्पेनले समान १–१ पटक विश्वकप ट्रफी उचालेका छन् । 

अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा युरोपेली हस्तीहरू फ्रान्स र स्पेनबीच कडा प्रतिस्पर्धा हुनेछ । यो खेल आगामी असार ३१ गते अमेरिकाको डालास स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ (पौने १) बजे सुरु हुनेछ।

Duduwa Tato hawa Bachau Image

त्यसैगरी, दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन् । असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्टा स्टेडियममा हुने यो बहुप्रतिक्षित खेल पनि नेपाली समयअनुसार राति १२ः४५ बजे नै सुरु हुनेछ ।

यी दुई सेमिफाइनल खेलका विजेता टोलीहरूले विश्वकपको प्रतिष्ठित उपाधिका लागि आगामी साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।