नेपालगन्जको एचसीआरसी अस्पतालले पायो आइएसओ गुणस्तर

नेपालगन्जको एचसीआरसी अस्पतालले पायो आइएसओ गुणस्तर

नेपालगन्ज २६ असार : नेपालगन्जस्थित एचसीआरसी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली आइएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ। 

अस्पतालका संस्थापक अध्यक्ष तथा प्रमुख डा. कुमारसान शाहका अनुसार अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली र सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि अन्तर्राष्ट्रिय गुणस्तरको आइएसओ प्रमाणीकरण प्रदान गरिएको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा आइएसओका प्रमुख लेखा परीक्षक भोजराज तिमिल्सिनाले डा. शाहलाई प्रमाणीकरणको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा अस्पताल व्यवस्थापन, विभिन्न विभागका प्रमुख, विशेषज्ञ चिकित्सक, नर्सिङ टोली तथा अन्य कर्मचारीको उपस्थिति थियो ।

डा. शाहले आइएसओ ९००१ः२०१५ प्रमाणीकरणले अस्पतालको चिकित्सा सेवा, क्लिनिकल प्रशिक्षण, शिक्षण अस्पताल सेवा, निदान तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आकस्मिक सेवा लगायतका सबै प्रमुख सेवालाई समेटेको बताए । उनका अनुसार यसले सेवा गुणस्तर सुनिश्चित गर्दै निरन्तर सुधार र मानकीकृत कार्यप्रणालीप्रति अस्पतालको प्रतिबद्धता झल्काएको छ ।

उनले आइएसओ प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्न तथा सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Duduwa Tato hawa Bachau Image

अस्पतालले दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रणाली कार्यान्वयनमा समेत यस प्रमाणीकरणले महत्वपूर्ण योगदान पु¥याउने जनाएको छ । डा. शाहले आइएसओ ९००१ः२०१५ प्रमाणीकरणलाई केवल उपलब्धि नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली र निरन्तर सुधारप्रतिको प्रतिबद्धताको मापनका रूपमा लिनुपर्ने बताए । 

उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि बिरामीलाई अझ सुरक्षित, भरपर्दो, व्यवस्थित र मर्यादित स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उल्लेख गरे । साथै, स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न निरन्तर प्रयास जारी रहने उनको भनाइ छ ।