‘उत्कृष्ट अनुसन्धानकर्ता’ एसपी जिसीलाई तस्करको चुनौतीः बाँकेका अवैध नाकाबाट धमाधम तस्करी
मुख्य नाकामा कडाई, चोरबाटोमा खुल्ला !
- | अर्थ | नेपाखबर | अपराध–घटना
- २२ असार २०८३, सोमवार
- नेपाखबर
नेपालगन्ज २२ असार : हालै मात्र लुम्बिनी प्रदेशकै ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को रूपमा पुरस्कृत भएका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हालेको बाँके जिल्लामा सीमा सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर प्रश्न उठ्न थालेको छ।
मुख्य नाका जमुनाहामा सुरक्षा व्यवस्था र भौतिक अनुशासनमा कडाई गरिएको दाबी प्रहरीले गरे पनि जिल्लाका अन्य खुला तथा ‘अवैध’ नाकाहरूबाट भने भन्सार छली र अवैध सामानको तस्करी धमाधम भइरहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान र शान्ति सुरक्षामा अब्बल ठहरिएका एसपी जिसीले लुम्बिनी प्रदेशको वर्षकै उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका थिए । तर, उनी पुरस्कृत भएकै समयमा बाँकेका ग्रामीण क्षेत्रका ‘चोरबाटो’ र ‘गैरकानूनी’ नाकाहरूबाट भारतीय सामानहरू राजस्व छली गरी नेपाल भित्र्याउने गिरोह सक्रिय भएको स्थानीय बासिन्दा तथा व्यवसायीहरूको गुनासो छ ।
नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि ‘मुख्य नाका’ नेपालगन्जको जमुनाहमा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिएपनि ‘अबैध’ नाकाबाट भने तस्करी मौलाएको हो ।
भारतसँग सीमा जोडिएका बाँकेका अन्य ग्रामीण नाकाहरू साईगाउँ, सुइया, कटकुइया, खडैचा र नरैनापुर क्षेत्रका खुला सीमानाहरूबाट राती र बिहानीपख ठूलो मात्रामा कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान र हार्डवेयरका सामाग्रीहरू अवैध रूपमा भित्रिरहेका छन् ।
“मुख्य नाकामा प्रहरी देखिने गरी बस्छ, तर भित्री चोरबाटोहरूबाट साइकल, मोटरसाइकलमा तस्करीका सामानहरू बजारसम्म पुग्ने गरेका छन्’, एक स्थानीय प्रत्यक्षदर्शीले बताए ।
एसपी जिसीले बाँकेको कमाण्ड सम्हालेपछि अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा जस्ता कामहरूमा उत्कृष्ट भूमिका निर्वाह गरेको बताइएको छ । तर, सीमानाकामा हुने तस्करीले एसपी जिसीको कार्यकुशलता र क्षमतामाथि प्रश्न चिन्ह खडा गरेकोछ ।
जिल्लाको शान्ति सुरक्षा र ठूला अपराधको सफल अनुसन्धान गरेर प्रशंसा कमाएका जिसीलाई अहिले तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै चुनौती थपिदिएका छन् ।
सीमावर्ती क्षेत्रका स्थानीय प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीसँगको ‘लाइन’ मिलाएर बढैया, साईगाउँ र बेलभार क्षेत्रका खुला सीमाबाट दैनिक रूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
सुरक्षाकर्मीले मुख्य नाकामा कडाई गरेपनि ‘अबैध’ नाकामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयको आरोप छ ।
तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको ‘मिलेमतो’ र ‘सेटिङ’ मा भइरहेको स्थानीय प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । यद्यपी, यस सम्बन्धमा सम्बन्धित सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गर्छन् । उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । ‘आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । बिहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,’ उनले प्रतिक्रिया दिए ।
उनले घरायसी सामान ल्याउन सहज बनाएको भएपनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको जिकिर गरे । ‘मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेका छन्,’ प्रत्यक्षदर्शी एक स्थानीयले बताए ।
सीमावर्ती गाउँका कच्ची बाटो हुँदै यतिबेला खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक, लागुऔषध तथा कानूनले प्रतिबन्ध लगाएका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ ।
‘जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,’ अर्का एक प्रत्यक्षदर्शीले बताए । डुडुवा गाउँपालिका वडा नम्बर–१, पिप्रहवा र खडैचा तथा जानकी गाउँपालिकाको साइगाउँ क्षेत्र पछिल्लो समय तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ ।
सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, ‘सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।’
जमुनाहको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले जानकारी दिएकाछन् । शर्मा गल्लीमा ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करले सामान ओसारपसार गर्दै आएकाछन् ।
पिप्रहवामा सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएको छ । त्यहाँ ड्यूटी गर्ने सशस्त्र प्रहरीको मिलोमतोमा रातको समयमा तस्करी हुने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । ‘लाइन लिएका तस्करले सामान ल्याउने बेला सशस्त्र प्रहरी नदेखे झैँ गर्छन्,’ ती स्थानीयले भने ।
अवैध नाकाहरूबाट हुने यो राजश्व चुहावटले एकातिर राज्यलाई घाटा पु¥याइरहेको छ भने अर्कोतिर वैधानिक रूपमा कर तिरेर व्यवसाय गर्ने स्थानीय व्यापारीहरू मर्कामा परेका छन् ।





0 Comments