नेपालगन्जमा दुई दशकपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापना
शालिकको विधिवत उद्घाटन साउनमा गरिने: मेयर प्रशान्त बिष्ट
नेपालगन्ज २० असार : नेपालगन्जमा २० वर्षपछि राजा वीरेन्द्रको शालिक स्थापना गरिएकोछ । २०६२–६३ को दोस्रो जनआन्दोलनमा तोडफोड गरेर फालिएको वीरेन्द्रको शालिक गएराति(शुक्रबार) २ बजे राखिएको हो ।
नेपालगन्जको धम्बोझी चोकमा वीरेन्द्रको शालिक राख्न यसअघि राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक÷दुई पटक जबरजस्ती राख्ने प्रयास भएको थियो । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुको निर्देशनमा प्रहरीले रोक्दै आएको थियो । जोडबलका साथ त्यसबेला राखिएको वीरेन्द्रको शालिक बाँके प्रशासनले लिएर गएको थियो ।
अहिले नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा राजाको वीरेन्द्रको शालिक पुनस्थापना गरिएको हो । यसको मुख्य जड गत २०८२ भदौ २३–२४ गतेको जेनजी आन्दोलन हुन पुग्यो । गत भदौ २४ गते भएको जेनजी आन्दोलन उग्र बनेपछि नेपालगन्जका ६ वटा चोक चार वटा चोकमा रहेका शालिक तोडफोड गरि नष्ट गरिएको थियो । जसमा नेपालगन्ज उपमहानगरपालिका अगाडीको वीपी चोक, गणेशमान चोक, पुष्पलाल चोक र सेतु विक चोकमा रहेका उनीहरुको शालिक तोडफोड गरि कामै नलाग्ने बनाइएको थियो ।
यसरी तोडफोड गरिएका शालिकको तत्काल व्यवस्थापन गर्न नसकेको नेपालगन्ज उपमहानगरपालिकाले लामो समयसम्म रातो कपडाले बेरेर शालिक राख्दा सहरको सौन्दर्य र परिचय कुरुप बनेको भन्दै जेनजी आन्दोलनका क्रममा तोडिएका सबै शालिक पुनः निर्माण गर्नुपर्ने माग उठेको थियो । सोही बखत धम्बोझी(वीरेन्द्र) चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पनि पुनःस्थापना गर्नुपर्ने नत्र कुनै पनि चोकमा शालिक राख्न नदिइने भन्ने नागरिक समाजकै तहबाट जोडबलले आवाज उठेपछि नेपालगन्ज उपमहानगरपालिकाले अग्रसरता देखाएका थियो ।
राप्रपाका नेता एवं राजाको शालिक राख्न निरन्तर दबाब दिइरहेका युवा नेता ऋषिराज देवकोटाले २० वर्षपछि राजाको शालिक पुनःस्थापना हुँदा धेरै खुसी लागेको बताए । उनले इतिहासको सम्मान र जिवन्त राख्न उपमहानगरपालिकाले गरेको कार्यप्रति आभार प्रकट गरे ।
राप्रपाका तत्कालिन महामन्त्री डा. धवलसम्शेर राणा नेपालगन्ज उपमहानगरपालिकाको मेयर हुँदा शालिक पुर्नस्थापना गर्ने पटक–पटकको प्रयास बिफल भएको थियो ।
जेनजी विद्रोहमा वीपी, पुष्पलाल, गणेशमान, सहिद सेतु विकको शालिक तोडफोड गरिएको थियो । ती सबै पुनःस्थापना गरिएको छ । दोस्रो जनआन्दोलनमा तोडफोड गरिएको राजाको त्रिभुवनको शालिक यसअघि नै राखिएको छ । आधा कदको उक्त शालिक त्यतिबेला कामचलाउका रुपमा राखिएकाले अब त्यहाँ पनि अर्काे शालिक राख्न राजावादीले दबाब दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले नगर कार्यपालिका(बोर्ड) बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको पूर्ण कदको शालिक पुर्नस्थापना गरिएको जानकारी दिएका छन् । शुक्रबार राती क्रेनको सहायताले शालिक ठड्याउने काम गरिएको उनले बताए ।
धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने भएपछि मध्यरातमा शालिक पुर्नस्थापना गर्ने क्रममा मेयर बिष्टसहित जनप्रतिनिधीहरु, राजावादी तथा स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
लामो समयदेखि रहेको र विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक शालिक राखिएको नेपालगन्जका मेयर प्रशान्त विष्टले बताए ।
बिष्टले अगाडी भने, ‘ईतिहासलाई संरक्षण गर्नु नेपालगन्ज उपमहानगरपालिकाको दायित्व र कर्तब्य हो, त्यसैले हामीले कार्यपालिका बैठकबाट निर्णय गरेर स्वर्गीय राजा वीरेन्द्रको शालिक पुर्नस्थापना गरेका हौं, शालिकको विधिवत उद्घाटन साउनमा हुनेछ ।’





0 Comments