बाँकेका अधिकांस पत्रकारहरु अनावश्यक कान ‘कोट्याउँछन्’
पत्रकार महासंघद्वारा पत्रकारको नाक, कान तथा घाँटी परीक्षण
- | नेपाखबर | स्वास्थ्य
- १४ असार २०८३, आइतवार
- नेपाखबर
नेपालगन्ज १४ असार : बाँकेका अधिकांश पत्रकारहरुले अनावश्यक आफ्नो कान ‘कोट्याउने’ गरेकाछन् । जसका कारण उनीहरुको कानको भित्री छाला सुख्खा हुने समस्या देखिएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार लक्षित सञ्चालन गरेको नाक, कान तथा घाँटी परीक्षणका क्रममा यस्तो पाइएको हो ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गर्दा यस्तो पाइयो ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झाले सहभागी पत्रकारहरूको स्वास्थ्य परीक्षण गर्दा परीक्षणका क्रममा कानको श्रवण क्षमता (प्योर टोन अडियोमेट्री–पीटीए) परीक्षण समेत गरिएको थियो ।
डा. झाले अधिकांश पत्रकाहरुमा कान सफा गर्ने नाममा बारम्बार इयर बड (कटन बड) प्रयोग गर्ने बानीका कारण कानको भित्री छाला सुख्खा हुने समस्या देखिएको बताए । उनले कानको स्वास्थ्य जोगाउन अनावश्यक रूपमा इयर बडको प्रयोग नगर्न समेत सुझाव दिए ।
सोक्रममा एक पत्रकारको कानको जाली फुटेको र तत्काल अप्रेशन गर्नुपर्ने, केही पत्रकारको कानामा ढुसी जमा भएको र केही पत्रकारको श्रवण क्षमता कमजोर पाइनुका साथै केहीको नाक र घाँटीमा समेत समस्या देखिएकाले आवश्यक स्वास्थ्य सल्लाहसहित औषधी वितरण गरिएको थियो ।
ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढाका अनुसार परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारहरूलाई व्यवसायिक जिम्मेवारीसँगै आफ्नै स्वास्थ्यप्रति पनि सचेत र जिम्मेवार बनाउन महासंघले समय–समयमा विभिन्न स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए । यसै अभियान अन्तर्गत यस पटक नाक, कान तथा घाँटी रोग सम्बन्धी विशेष स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको उनले जानकारी दिए ।
महासंघ बाँकेका सचिव कृष्ण ओलीका अनुसार शिविरमा ४० जना पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. आनन्द कुमार झा, ओलस्का रामारोशन क्लिनिकका सञ्चालक धनराज बुढा तथा कमल बुढासहितको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको थियो । शिविरका लागि आवश्यक औषधि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नेपालगञ्ज इकाई (एनएमएसआरए) ले उपलब्ध गराएको थियो ।





0 Comments