खजुरामा अपाङ्गता भएकाको लागि निःशुल्क स्वास्थ्य शिविर

खजुरामा अपाङ्गता भएकाको लागि निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज १३ असार : बाँकेको खजुरा गाउँपालिका–३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

खजुरा गाउँपालिका वडा नं. ३ कार्यालयको आयोजना तथा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा सञ्चालन गरिएको शिविरबाट ७० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।

शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।  सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको समेत स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए ।

उनले सबै सेवा प्रदायक सरकारी कार्यालय तथा संस्थाहरूलाई अपाङ्गता–मैत्री बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रवाहमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष विकले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सेवा सहज बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा थप प्रभावकारी योजनाहरू पनि कार्यान्वयन गरिने जानकारी दिए ।

वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर भण्डारीले अझैँ पनि ७० देखि ९० प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू राज्यबाट प्रदान गरिने सेवा–सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेको बताए । उनले सरकारी कार्यालय, अदालत तथा प्रहरी चौकीहरू अझै पनि पूर्ण रूपमा अपाङ्गता–मैत्री बन्न नसकेको उल्लेख गर्दै ती संरचनाहरूलाई शीघ्र सुधार गरी सबैका लागि पहुँचयोग्य बनाइनुपर्ने आवश्यकता औँल्याए ।

Duduwa Tato hawa Bachau Image

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुशिला न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले उनीहरूको स्वास्थ्य सेवा पहुँच बढाउनुका साथै अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले विशेषगरी सरकारी सेवा प्रणालीलाई अपाङ्गता–मैत्री बनाउँदै लक्षित वर्गको सहज पहुँच सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखिन् ।

कार्यक्रममा सहभागीहरूले यस्ता स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, अधिकार र सामाजिक सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।