खजुराले ल्यायो अनुमानित ७८ करोड बढी बजेट
नेपालगन्ज ११ असार : खजुरा गाउँपालिकाले ७८ करोड बढी अनुमानित बजेट पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि उपाध्यक्ष मञ्जु मल्लले कुल ७८ करोड २७ लाख ९९ हजार रुपैयाँ बजेट पेश गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको सभाध्यक्षतामा राष्ट्रिय गान र खजुरा गानसँगै सुरु भएको १९ औं गाउँ सभाको पहिलो बैठकमा बुधबार उपाध्यक्ष मल्लले संघीय सरकारबाट सशर्त अनुदान ३६ करोड ९७ लाख, वित्तिय समानिकरण १५ करोड १७ लाख, संघीय राजश्व बाँडफाँडबाट १३ करोड २ज्ञ लाख ८४ हजार, विशेष अनुदानको चालुतर्फ २ करोड ५० लाख, विशेष अनुदान पुजिगत ५३ लाख र समपुरक खनुदानका रुपमा ६० लाख गरि जम्मा ६८ करोड ९८ लाख ८४ हजार रुपैयाँको अनुमानित बजेट पेश गरिन् ।
यस्तै प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान एक करोड ४५ लाख, वित्तिय समानीकरण अनुदान एक करोड ४ लाख ५४ हजार, प्रदेश राजश्व बाँडफाँड २ करोड ८२ लाख ६१ हजार, प्रदेश समपुरक अनुदान ७५ लाख, प्रदेश विशेष अनुदान २० लाख गरि जम्मा ६ करोड २७ लाख १५ हजार तथा आन्तरिक राजश्वतर्फ ३ करोड २ लाख गरि जम्मा ७८ करोड २७ लाख ९९ हजार रुपैयाँको अनुमानित बजेट पेश गरिन् ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, आर्थिक तथा कृषी विकास, पर्यटन घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगार, भौतिक पुर्वाधार, वन वातावरण तथा विपद ब्यवस्थापन, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोबासी र कानून तथा न्याय, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासमा आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष मल्लले बताइन् ।
‘हामी आफै बनाऔं हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’को सपना साकार पार्न सभामा अध्यक्ष डम्बरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत गरिएको बजेट उपर थप छलफलका लागि सभाध्यक्ष डम्बरले छिटै दोस्रो बैठक बोलाउने जानकारी दिए ।
गाउँसभा खजुराका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, ८ वटै वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।





0 Comments