जमुनाह नाकामा सशस्त्र प्रहरीको ‘डग स्नाइफिङ’
- | नेपाखबर | अपराध–घटना
- ९ जेठ २०८३, शनिवार
- नेपाखबर
नेपालगन्ज ९ जेठ : नेपाल–भारत सीमानाका जमुनाह नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरसहितको विशेष जाँच (‘डग स्नाइफिङ’) गरिरहेकोछ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा दुईवटा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गराउने गरिएकोछ ।
सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरिएपछि सुरक्षा व्यवस्था कडा भएको छ । कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर चेकजाँच गराउने गरिएको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दैगएको पाइएपछि सो नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ ।
जमुनाहामा परिचालित दुईवटा तालिमप्राप्त कुकुरले विशेषगरी हात हतियार, बिस्फोटक पदार्थ तथा लागुऔषध सम्बन्धी चेकजाँचमा सघाइरहेको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भिमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिमप्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ रहने बताए ।
उनले सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शंकास्पद गतिविधि गर्नेहरुमा त्रास उत्पन्न भएकाले त्यस्ता कार्य नियन्त्रणमा थप प्रभावकारिता आउने दावी गरे ।
१०० रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाई गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप कडा पार्न कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार लागुऔषध ओसार–पसार लगायतका गैर कानूनी कार्यलाई नियन्त्रण गर्नका लागि नाकामा कुकुर परिचालन गरिएको हो । नाकामा तालिम प्राप्त कुकुर परिचालनले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानून कार्यान्वयनमा थप मजबुती आउने विश्वास सर्वसाधारणले गरेका छन् ।
त्यसो त यसअघि पनि नेपालगन्ज स्थित जमुनाह नाकामा तालिम प्राप्त कुकुरको सहायताले चेकजाँच गरिएको थियो । विशेष परिस्थिती तथा सरप्राइज चेकजाँचका बेलामा पनि बाँकेका सुरक्षा निकायले चेकजाँच गर्ने गर्दछन् ।
यसअघि २०७८ को असोजमा कोरोना कहरकै समयमा दशैंमा नेपाल भित्रिनेहरुलाई नेपाल प्रहरीको तालिम प्राप्त दुई कुकुरको सहायतामा चेकजाँच गरिएको थियो । नेपाल प्रहरीको दुईवटा कुकुर ‘लब्ली’ र ‘ब्यूटी’ले भारतबाट नेपाल आएका मानिस, सवारी साधन र उनीहरुले ल्याएका सामानलाई जाँच गरेका थिए । लब्लीले बिष्फोटक पदार्थ र हातहतियार तथा ब्यूटीले लागुऔषध सम्बन्धी जाँच गरेका थिए । त्यसबेला यो घटनाले खुबै चर्चा समेत पाएको थियो ।
सीमापारि भारततर्फ भारतीय सुरक्षा निकाय एसएसबीले गत लामो समयदेखि उच्चतम प्रविधि र तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दै आएको छ ।





0 Comments