लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही
लेखापढी र कानून व्यवसायीको मनोमानी : प्रति लालपुर्जा २ हजार ५०० असुलेर श्रेष्ता कायम
- | राजनीति | अर्थ | नेपाखबर | अपराध–घटना
- ५ जेठ २०८३, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज ५ जेठ : बाँकेमा जग्गाधनी पुर्जाको श्रेष्ता कायम गर्न लेखापढी व्यवसायी र कानून व्यवसायीले सेवाग्राहीबाट चर्को मूल्य असुलिरहेको पाइएकोछ ।
गत सालको भादौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको तत्कालिन मालपोत कार्यालय बाँकेमा जलेर नष्ट भएका जग्गाधनी पुर्जाको श्रेष्ता कायम गराउन सेवाग्राहीले चर्को मूल्य तिरिरहेका हुन् ।
नेपालगन्ज विद्युत कार्यालय नजिक भाडाको भवनमा रहेको साबिक मालपोत कार्यालय, हाल भूमि प्रशासन कार्यालय, नेपालगन्जमा जलेर नष्ट भएका जग्गाधनी पुर्जाको श्रेष्ता कायम गर्ने कार्य चलिरहेको छ ।
वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपी र सक्कल लालपुर्जा लिएर कार्यालय पुग्ने जग्गाधनीको श्रेष्ता कायम हुन्छ । श्रेष्ता कायम गर्न कुनै राजश्व तिर्नु पर्दैन । तर, सेवाग्राही मैत्री भवन नहुनु र विभिन्न फाँटमा पुग्नुपर्ने झन्झटिलो कार्यको फाइदा उठाउँदै लेखापढी व्यवसायी र कानून व्यवसायीले सेवाग्राहीबाट चर्को मूल्य असुलिरहेका हुन् ।
निःशुल्क श्रेष्ता कायम हुने भएपनि विभिन्न बहाना बनाउँदै लेखापढी र कानून व्यवसायीले लुट मच्चाइरहँदा बाँके प्रहरी र प्रशासन मौन रहेकोछ ।
तीन तलाको उक्त भवनमा पटक–पटक फाँट र बिभिन्न टेबलमा पुग्नुपर्ने बाध्यताका कारण लेखापढी व्यवसायी र कानून व्यवसायीको सहारा लिनुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
नरैनापुरका पतिराम भुजुवाले आफुसँग लेखापढी नभएको भन्दै ६ वटा लालपुर्जाको प्रति लालपुर्जा २ हजार ५०० तिरेर श्रेष्ता कायम गरेको बताए । कार्यालयमा निःशुल्क हुने कामलाई लेखापढी व्यवसायीहरुले चर्को मूल्य तोकेर सेवाग्राहीहरुबाट रकम असुल्ने गरेका छन् ।
सहायता कक्षले आवेदन लेखिदिने र भूसेवाको काम निःशुल्क गरिदिएपनि फाँट–फाँट दौडनुपर्ने परम्परागत परिपाटीका कारण सेवाग्राहीहरु चर्को रकम तिर्न बाध्य बन्नु परेको सेवाग्रहीको गुनासो छ ।
हिरमिनियाबाट श्रेष्ता कायम गर्न आएका समरसबहादुर सिंहले एउटा फाँटमा फायल बुझाएपछि सनाखतका लागि बाहेक अन्य अवस्थामा सेवाग्राही फाँटफाँट दौडनुपर्ने परिपाटी बन्द गर्नुपर्ने बताउँछन् । फाँटहरुमा पनि टोकनको व्यवस्था हुनुपर्ने उनको माग छ । ‘फाँटको सानो झ्याल पहिल्यै लेखापढीका कर्मचारीले कब्जा गरेर बस्छन्, गाँउबाट आएका सेवाग्राहीले पालै पाउँदैनन् ।’ उनले भने । लेखापढी व्यवसायीका कर्मचारीहरुले बाटैबाट सेवाग्राहीलाई तानेर आफ्नो कक्षमा लैजाने गरेको समेत सेवाग्राहीको गुनासो छ ।
यसैबीच, बैशाख मसान्तसम्म कार्यालयबाट १८ हजार ७१५ श्रेष्ता कायम गरिएको साबिक मालपोत कार्यालय हाल भूमि प्रशासन कार्यालय बाँकेका प्रमुख सबिनसिंह चौधरीले बताए ।
उनका अनुसार कार्यालयको ‘क’ फाँटबाट ९ हजार ५८० जनाले श्रेष्ता कायम गराएका छन् भने फाँट ‘ख’ बाट ७ हजार ४३५ जनाको श्रेष्ता कायम भएको छ ।
विवरण नभेटिएका, शंकास्पद र प्रमाण नपुगेका जग्गा धनीको मुद्दा फाँटबाट निरुपण गरि श्रेष्ता कायम गरिएको कार्यालय प्रमुख चौधरीले बताए । यसरी श्रेष्ता कायम भएकाहरुको संख्या एक हजार ७०० थान रहेको उनले बताए ।
वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपी र सक्कल लालपुर्जा लिएर कार्यालय पुग्ने जग्गाधनीलाई कार्यालयबाट श्रेष्ता कायम गरिदिने गरिएको उनले बताए ।
श्रेष्ता कायम गर्न कुनै राजश्व नलाग्ने पनि उनले जानकारी दिए । सेवाग्राही मैत्री भवन नभएकाले सेवाग्राहीले केही असहज महशुस गरेको भने मालपोत अधिकृत चौधरीले स्वीकार गरे ।





0 Comments