नेपालगन्ज फुड फेस्टिभल : ५ हजार भारतीय दर्शकले अवलोकन गरे

नेपालगन्ज फुड फेस्टिभल : ५ हजार भारतीय दर्शकले अवलोकन गरे

नेपालगन्ज १४ वैशाख : नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको  ‘स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल’मा दर्शकको ओइरो लाग्यो । होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँके च्याप्टरले संयुक्त रूपमा यो फेस्टिभलको आयोजना गरेका हुन् ।

फेस्टिभलमा दैनिक करिब १२ हजारले फेस्टिभलको अवलोकन गरेका थिए । नेपालगन्जलगायत बाँके जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसमा पर्यटकीय स्थलहरूको प्रचार–प्रसार, स्थानीय परिकारको पहिचान र प्रवद्र्धन, होटल व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्यका साथ फेस्टिभल सञ्चालन गरिएको थियो ।

स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरी आयोजना गरेको फेस्टिभलमा स्ट्रिट फुडदेखि पाँच तारे होटलका स्वादसहितका परिकार एउटै स्थानमा राखिएका थिए ।

फेस्टिभलमा स्थानीय स्तरका परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ उपलब्ध थिए । जहाँ एउटै थलोमा सेल रोटी, चिकेन थाई मम, बिरयानी, बँदिया भाले साँधेको, पिजा, सेकुवा, छोइला, ढिक्री, घोंगी, सातु,  राबडी, शुशी, नबाबी कबाबलगायत सयौं परिकार उपलब्ध थिए ।

यस्तै, स्थानीय कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएका थिए । फेस्टिभलमा होटल तथा अन्य व्यापारिक प्रतिष्ठानका ५५ वटा स्टल राखिएका थिए ।

तीन दिन चलेको फेस्टिभलमा करिब पाँच हजार भारतीय पर्यटकसहित कुल ३५ हजार दर्शकले अवलोकन गरेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगन्जको प्रचण्ड गर्मीमा साँझ ६ बजे देखि ११ बजेसम्म सञ्चालन भएको यो फेस्टिभलमा पर्यटक आनन्द महसुस गरेको होटेल संघ बाँकेका  उपाध्यक्ष केशव न्यौपानेले बताए ।

Duduwa Tato hawa Bachau Image

विभिन्न विवाद र चर्चाका बाबजुद तीन दिन सम्म चलेको फेस्टिभलले नेपालगन्जको एक छुट्टै पहिचान स्थापित गरेकोछ । यसले आगामी दिनमा फेस्टिभललाई थप परिस्कृत र व्यवस्थित गर्दै निरन्तरता दिन मार्ग कोरेको नाट्टा बाँके च्याप्टरका निर्वतमान अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । उनी भन्छन्–‘जे होस् जस्तो होस् तर, नेपालगन्ज भाइभ्रेन्ट भयो । कम्तीमा यस्तो फेस्टिभल ७ दिनको अवधिको बनाउनुपर्छ ।’

नेपालगन्जको प्रचण्ड गर्मी र यसबाट राहत प्रदान गर्न यस्तै रात्रीकालिन बजारको माग नेपालगन्जले गरेको स्थानीय युवा व्यवसायी शेरबहादुर रौले भन्छन्–‘केही कमीकमजोरी भयो त्यसलाई सुधार गर्दै लानुपर्छ । व्यवस्थापन र स्थानीयपनलाई अझ जिवन्त राख्न सक्नुपर्छ ।’

रौले भन्छन्–‘आयोजकले हरेक वर्षको चैत्र अन्तिम साताबाट शुरु गरि वैशाख दोस्रो सातासम्मको समयसीमा राखेर गर्न सके धेरै राम्रो हुन्छ । त्यहीबीच नेपालीहरुको नयाँ वर्ष समेत मनाउने गरि गरियो भने झनै प्रभावकारी हुन्छ ।’