सीमा कडाइको असरः सीमावर्ती भारतीय बजारमा सन्नाटा

सीमा कडाइको असरः सीमावर्ती भारतीय बजारमा सन्नाटा

सुनसान बनेको सीमावर्ती बजार रुपैडिहा । तस्विर सौजन्य: रामु ओली

नेपालगन्ज ११ वैशाख : नेपाल सरकारले सीमा क्षेत्रमा राजस्व र भन्सार नियमलाई कडाइका साथ लागु गर्दा सीमावर्ती भारतीय बजारहरु संकटमा परेकोछ । 

भारतसँगको करिब एक हजार ७५१ किलोमिटर लामो खुला सीमानाकामा अहिले सशस्त्र प्रहरी बलले कडा जाँच गरिरहेको छ । सीमावर्ती भारतीय बजारहरू संकटमा परेको बीबीसी हिन्दीले समेत जनाएको छ ।

नेपालमा १०० रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार तिर्नुपर्ने नियम पुरानो भए पनि विगतमा यो व्यावहारिक रूपमा खुकुलो थियो । तर, नयाँ सरकारले अनौपचारिक व्यापार रोक्न र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउन यसलाई कडाइका साथ लागु गरेको छ ।

बिहार र उत्तर प्रदेशका सीमावर्ती गलगलिया (किशनगञ्ज), जोगबनी (अररिया), नेपालगन्ज (रुपैडिहा) र रक्सौलका बजारहरूमा नेपाली ग्राहकहरूको संख्यामा भारी गिरावट आएको छ ।

यी सीमावर्ती बजारका स्थानीय व्यापारीका अनुसार, नेपाली ग्राहकको संख्या ९० प्रतिशतले घटेको छ । धेरै साना पसलहरू बन्द हुने अवस्थामा पुगेका छन् ।

Duduwa Tato hawa Bachau Image

सीमावर्ती क्षेत्रका बासिन्दाहरू दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र विवाहका सामान किन्न भारतीय बजार जाने गर्छन् । उनीहरूको भनाइमा नेपालमा सामानको मूल्य भारतको तुलनामा दुईदेखि तीन गुणा महँगो हुन्छ । स्वदेशी व्यापार बचाउनु राम्रो हो, तर महँगीको समाधान नगरी जनतालाई महँगोमा सामान किन्न बाध्य पार्नु ठिक नभएको उनीहरुको बुझाईछ ।

भन्सार कडाइका विषयमा स्थानीय बासिन्दा र राजनीतिज्ञहरूले विरोध जनाइरहेकाछन् ।