नेपालगन्ज र कोहलपुर क्षेत्रमा प्रहरीको विशेष अप्रेशन, १२७ जना पक्राउ परे
- | नेपाखबर | अपराध–घटना
- ११ वैशाख २०८३, शुक्रवार
- नेपाखबर
नेपालगन्ज ११ वैशाख : लागुऔषध विरुद्ध बाँके प्रहरीले विशेष अप्रेशन चलाउँदा एक सय २७ जना नियन्त्रणमा आएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषधको बिक्री–वितरण, सेवन र ओसारपसारविरुद्ध नेपालगञ्ज र कोहलपुरमा विशेष अप्रेशन सञ्चालन गरेको थियो ।
वैशाख ९ गते साँझदेखि सुरु गरिएको उक्त विशेष अप्रेशनका क्रममा एक २७ जना पक्राउ परेका हुन् । नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न स्थानमा लागुऔषधको बिक्री–वितरण, ओसारपसार तथा सेवन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अप्रेशन सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार लागूऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्न व्यक्तिसँगै होटलहरूमा अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार लागुऔषध बिक्री–वितरण, ओसारपसार र सेवनमा संलग्न एक सय ११ जना तथा होटलहरूमा अनैतिक कार्यमा संलग्न १६ जना गरी कुल एक सय २७ जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का साहिल नेपालीलाई जिल्ला अदालत बाँकेबाट ७ दिन र वीरेन्द्रनगर नगरपालिका–१३ का चन्द्र नेपालीलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैगरी, पक्राउ परेकामध्ये २ जना होटल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अन्य लागुऔषध सेवनकर्तालाई अभिभावकसहित परामर्श दिई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सीमापारि भारतीय बजार रुपैडियाबाट ब्राउनसुगर तथा अन्य लागूऔषध भित्र्याई बाँकेका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रमा पु¥याउने गरिएको पाइएको छ ।
लागुऔषध नियन्त्रणका लागि बाँके प्रहरीले चलाएको विशेष अभियानबाट एकैपटक ठूलो संख्यामा पक्राउ परेको यो घटना पछिल्लो ठूलो सफलता हो ।





0 Comments