नेपालगन्जमा सञ्चालित अवैध बसपार्क हटाइयो
- | नेपाखबर | अपराध–घटना
- ९ वैशाख २०८३, बुधवार
- नेपाखबर
नेपालगन्ज ९ वैशाख : नेपालगञ्जमा सञ्चालित ‘अवैध बसपार्क’ हटाइएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको पुष्पलाल चोकस्थित ‘सुशील नगर प्रवेशद्वार’ र धम्बोझीस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिक सञ्चालित अवैध बसपार्क हटाइएको हो ।
विगत लामो समयदेखि अवैध रूपमा बसपार्क सञ्चालनमा रहेका यी स्थानमा बसपार्क सञ्चालन गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कार्यालयको लेटरप्याडमै लिखित रूपमा अनुमति दिएका थिए ।
बालेन्द्र साह उर्फ बालेन नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा देखिएका अवरोधहरू हटाउन दिएको निर्देशन र स्थानीय बासिन्दाको दबाबका कारण नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले अवैध बसपार्क हटाउन बाध्य भएको हो ।
उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बसपार्कबाट मात्र सवारी साधनहरू गन्तव्यमा जानुपर्ने एकद्वार प्रणाली लागू गराउन अवैध बसपार्कहरू हटाइएको बताए । ‘अवैध बसपार्कहरू हटाउन हाम्रो कार्यालय प्रतिबद्ध छ । ठाउँ–ठाउँमा अव्यवस्थित बसपार्क हुँदा यात्रु तानातान गर्ने प्रवृत्ति थियो, यसको अन्त्य गर्नेछौं।’
नेपालगञ्जबाट दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत स्थानका लागि छुट्ने सार्वजनिक सवारी साधनहरू सुशील नगर प्रवेशद्वारबाट र बर्दियाको गुलरिया जाने सवारी साधनहरू धम्बोझीस्थित राष्ट्र बैंक कार्यालय नजिक रहेको अवैध बसपार्कबाट यसअघि छुट्ने गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–४ मा अत्याधुनिक बसपार्क रहेको छ।
उक्त बसपार्क सञ्चालनका लागि उपमहानगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । आफ्नै व्यवस्थित बसपार्कलाई धरासायी बनाउने गरी उपमहानगरपालिकाले अवैध बसपार्क सञ्चालन गर्न अनुमति दिँदा मेयर विष्ट विवादित बनेका थिए । मेयर बिष्टबाट लिखित अनुमति लिएर केही अमुख व्यक्ति÷समूहले सडक र व्यक्तिगत जमिनमा अवैध रूपमा समानान्तर बसपार्क निर्माण गरी लाभ लिएका थिए ।





0 Comments