खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता’ सार्वजनिक

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता’ सार्वजनिक

नेपालगन्ज ५ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यन्वयनमा आउने भएको छ । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो । 

सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्थानीय तहमा निमार्ण गरिएको कानून महत्वपुर्ण भएको भन्दै यसबारे सचेतना अभिबृद्धि गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरे ।

सामाजिक विकास समितिका संयोजक कृष्णकुमारी पोख्ररेलले महिला तथा बालिका हिंसाका घटनाहरु समाजमा अहिले पनि बढीरहेकाले समाजलाई चेतनाशील बनाउनुपर्नेमा जोड दिदँै यसविरुद्धको कानूनले पीडितले न्याय पाउने र लुकेका घटनाहरु समेत बाहिर आउने विश्वास गरिन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले यौनजन्य दुव्र्यवहारका घटना विद्यालयहरुमा बढी हुने भएकाले यो कानूनलाई विद्यालयमा कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिदैँ यस बारे गाउँटोलका विद्यार्थी तथा अभिभावकलाई सचेत गराउनुपर्ने बताए ।

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा विधायन समितिका संयोजक पार्वती विश्वकर्मा, सदस्य मिना सुनार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख शुसीला न्यौपाने, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यस अवसरमा पालिकाले कानून निमार्ण गरेको भन्दै महिला कानून र विकास मञ्च तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रलाई सम्मान पत्र समेत प्रदान गरेको थियो ।