नेपालगन्जमा विद्यालय भर्ना वैशाख ७ गतेदेखि, पठनपाठन १५ गतेबाट
संस्थागत विद्यालयलाई सरकारी पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन, कम्तीमा तीन वर्षसम्म निरन्तरता दिनुपर्ने
- | नेपाखबर
- ५ वैशाख २०८३, शनिवार
- नेपाखबर
नेपालगन्ज ५ वैशाख : सरकारले वैशाख १५ गतेबाट नयाँ शैक्षिक शत्रको भर्ना अभियान सुरू गर्न दिएको निर्देशन विपरीत नेपालगन्ज उपमहानगरपालिकाले भर्नासँगै पठनपाठन शुरु गर्दैछ ।
विद्यार्थीहरुको अध्ययन अध्यापन कार्यमा अवरोध सृजना भएको भन्दै यस वर्षको नयाँ शैक्षिक शत्रको भर्ना र पठनपाठन शुरु गर्न लागेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी शैक्षिक शत्र २०८३ का लागि विद्यालय सञ्चालन सम्बन्धि महत्वपूर्ण निर्णय गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रबार जारी गरेको एक सूचनामा नगर प्रमुखको उपस्थितिमा बसेको सरोकारवालाको संयुक्त बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई आग्रह गरिएको हो ।
निर्देशन अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त मार्गनिर्देशन र नेपाल सरकारको नीति अनुसार विद्यालय सञ्चालन गरिनेछ । साथै, आवश्यक कार्यविधि तयार भएपछि सोही अनुसार कार्यान्वयन गरिने जनाइएको छ ।
निर्णयमा उल्लेख भए अनुसार, नेपालगन्जमा विद्यार्थी भर्ना प्रक्रिया बैशाख ७ गतेदेखि शुरु गरी बैशाख १५ गतेबाट नियमित पठनपाठन सञ्चालन गरिनेछ । सबै संस्थागत विद्यालयहरूले नेपाल सरकारको पाठ्यक्रम अनुसार तयार गरिएको पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने र कम्तीमा तीन वर्षसम्म निरन्तरता दिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सामुदायिक तथा धार्मिक विद्यालयहरूले पनि सरकारी पाठ्यक्रम अनुसारका पुस्तक वितरण गर्नुपर्नेछ भने संस्थागत विद्यालयहरूले उपमहानगरपालिकाले निर्धारण गरेको मापदण्डभित्र रहेर मात्र शुःल्क लिन पाउने स्पष्ट गरिएको छ ।
उक्त निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपमहानगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई निर्देशन गरेको छ ।
यता भने बालेन नेतृत्व सरकारले आगामी वैशाख १५ गतेबाट विद्यार्थी भर्ना तथा वैशाख २१ गतेबाट पठनपाठन गर्ने निर्णय गरेको थियो । तर, संघ सरकारको निर्देशन विपरित स्थानीय तहमा धमाधम विद्यार्थी भर्ना र पढाइ सुरू गरिरहेकाछन् ।





0 Comments