एकैदिन करिब १० हजारले गरे ढकेरी वनस्पति उद्यानको अवलोकन
- | अर्थ | नेपाखबर | मनोरञ्जन
- २ वैशाख २०८३, बुधवार
- नेपाखबर
नेपालगन्ज २ वैशाखः नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार बाँकेको राप्तीसोनारी–९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानमा एकै दिन १० हजार सर्वसाधरणले अवलोकन गरेकाछन् । उद्यानमा रहेको वनस्पतिको अवलकन गर्दै उनीहरुले नयाँ वर्ष समेत मनाएका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बनेको ढकेरी वनस्पति उद्यानमा नयाँ वर्ष मनाउन एकै दिन करिब १० हजार सर्वसाधरण पुगेको उद्यानका वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीले जानकारी दिए ।
उनले हरियाली वातावरण, रङ्गीचङ्गी फूल र विविध वनस्पतिका कारण उद्यानमा आएर नयाँ वर्ष मनाउनेको संख्या थेगिनसक्नु भएको बताए । उनका अनुसार एकै दिन उद्यानमा आउने संख्या हालसम्मकै सबैभन्दा बढी यही रहेको बताए ।
अघिपछि उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको वैज्ञानिक अधिकृत भण्डारी बताउँछन् ।
“शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भिडभाड अत्यधिक हुने गर्छ”, उनले भने, “वनस्पति उद्यानमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।”
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष आगन्तुकको संख्या तेब्बरभन्दा बढी देखिएको छ । यस वर्ष धेरै प्रजातिका बोटबिरुवा तथा फूलहरू फुलेको तथा उद्यानलाई बिशेष प्रकारको आकर्षक बनाइएकोले आन्तरिक पर्यटक बढेको जनाइएको छ ।
नयाँ वर्ष मनाउन परिवार, साथीभाइ तथा आफन्तहरुसँग सो उद्यानमा पुगेका अधिकांश आगन्तुकहरूले त्यहाँको प्राकृतिक सौन्दर्य र वातावरणको खुलेर प्रशंसा गरेका थिए ।
ढकेरी वनस्पति उद्यान जडीबुटीको संरक्षण र अध्ययनका लागि पनि महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ । यहाँ पाँच सय बढी वनस्पती पाइन्छ । प्राकृतिक सौन्दर्य, शैक्षिक महत्व र जडीबुटीको विविधताले उद्यानलाई पछिल्लो समय उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ ।
यस्तै वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटल तथा होस्टेलले स्थानीय स्वाद चखाउने गरेका छन् । खास गरी यहाँ कुखुराको बँदिया भालेलाई साँधेर मौलिक परिकारका रूपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिन्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् ।
वि.सं २०५६ मा स्थापना भएको यस उद्यानमा पाँच सय बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधैँ चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ महेन्द्र राजमार्गमा ढकेरी उद्यान रहेकोछ ।





0 Comments