‘हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डरमा नकारात्मक असर पर्छ’ : नेसनल प्याब्सन
नेपालगन्ज २६ चैत : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक क्षेत्रमा गम्भीर असर पर्ने बताएको छ ।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने र शैक्षिक शत्र वैशाख १५ गतेबाट शुरु गर्ने निर्णय गरेपछि नेसनल प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेसनल प्याब्सनले विज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन र नकारात्मक असर पर्ने उल्लेख गरेको छ ।
“शनिबार र आइतबार दुई दिन बिदा दिँदा वार्षिक रूपमा थप ४० दिन बिदा बढ्ने जसका कारण सरकारले निर्धारण गरेको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गाह्रो हुन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
पठनपाठन प्रभावित हुने र शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष असर पर्ने भएकाले गुणस्तरीय शिक्षामा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
दैनिक ज्यालादारीमा आश्रित अभिभावकहरूका लागि दुई दिने बिदाको व्यवस्थापन कठिन हुने नेसनल प्याब्सनको ठहर छ ।
सरकारको निर्णय कार्यान्वयनका सिलसिलामा नेसनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई वार्षिक क्यालेन्डर र योजनामा नयाँ भर्ना वैशाख २ गतेदेखि शुरु गर्ने र नियमित पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
दशैँ, तिहार, जाडो र गर्मी बिदा कटौती गरी शैक्षिक शत्रमा कम्तीमा २२० दिन पठनपाठन सुनिश्चित गर्न, विद्यार्थीलाई अतिरिक्त बोझ नपर्ने गरी विद्यालय समय व्यवस्थापन नेसनल प्याब्सनले अनुरोध गरेको छ ।
शिक्षा ऐन २०७२ को परिच्छेद २५ बमोजिम मासिक, वार्षिक र विविध शुल्क नियमानुसार लिन पनि मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।





0 Comments