सरकारी सूचना र विज्ञापन सरकारी सञ्चार माध्यममा प्रकाशन गर्न निर्देशन

सरकारी सूचना र विज्ञापन सरकारी सञ्चार माध्यममा प्रकाशन गर्न निर्देशन

नेपालगन्ज १९ चैत : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी सूचनाहरू सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन गर्न निर्देशन दिएको छ।

कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको जारी विज्ञप्तिमा भनिएको छ।

कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको छ। अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

Duduwa Tato hawa Bachau Image

निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट हुने भुक्तानी सम्बन्धित सञ्चार संस्थाको खातामा सोझै जम्मा हुने व्यवस्था मिलाउन पनि जारी सूचनामा भनिएको छ।

यस्तै, प्रकाशन तथा प्रसारणका दर र छुटसम्बन्धी व्यवस्था सम्बन्धित सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्ने भनिएको छ।