ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १५ चैत २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज १५ चैत : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
आज आईतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो ।
चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आईतबार अदालतमा उपस्थित गराएको थियो । उनीहरू विरुद्ध गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।
जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने काँग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक सहित तत्कालीन केन्द्रिय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन प्रहरीमा पठाइएको हो । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो ।





0 Comments