कोहलपुर गोल्डकप आगामी वैशाख १९ देखि २६ गतेसम्म
नेपालगन्ज १४ चैत : चौथो संस्करणको कोहलपुर गोल्डकप आगामी वैशाख १९ देखि २६ गतेसम्म हुने भएको छ ।
प्रतियोगिताका संयोजक कर्णबहादुर बस्नेतले आगामी २०८३ साल वैशाखमा १९ गतेदेखि चौथो संस्करणको कोहलपुर गोल्डकप सञ्चालन गरिने बताए ।
उनका अनुसार यस संस्करणमा ‘ए’ डिभिजनका तीन वटा क्लब, विदेशी दुई वटा क्लब, मोफसलका दुई वटा क्लब र एउटा आयोजक टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने उनले बताए ।
खेलमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइने साथै उनीहरूलाई स्थानीय होमस्टेको मौलिक खानपान र बासको अनुभव समेत गराइने व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिउ ।
प्रतियोगितालाई थप व्यवस्थित, आकर्षक र व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रालिलाई दिइएकोछ ।
विगतका तीन संस्करण सफलताका साथ सम्पन्न भएका र यसपटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । खेल तालिका तथा मुख्य प्रायोजकसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ ।
गत वर्षको तेस्रो संस्करणमा पश्चिम नवलपरासीको दुधौली स्पोर्टस युवा क्लब विजयी भएको थियो भने आयोजक कोहलपुर रेसिङ साहारा क्लब उपविजेता बनेको थियो ।





0 Comments