कोहलपुरका मेयर आचार्यको नक्कली फेसबुक आइडी बनाई दुरुपयोग

कोहलपुरका मेयर आचार्यको नक्कली फेसबुक आइडी बनाई दुरुपयोग

नेपालगन्ज ३० फागुन : बाँके कोहलपुरका मेयर पुर्णप्रसाद आचार्यको नाममा नक्कली फेसबुक आइडी बनाइ दुरुपयोग गरेको पाइएकोछ । कोहलपुर नगरपालिकाका मेयर आचार्यको फोटो र नामको दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलिएकोछ । उक्त फेसबुक आईडीबाट विभिन्न ब्यक्तिहरुलाई पैसा माग्ने, अनुचित सन्देश पठाउने तथा विभिन्न विषयमा भ्रम सिर्जना गर्ने काम भइरहेको हो ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

मेयर आचार्यले आज शनिबार २ बजेर ४० मिनेटमा आफ्नो फेसबुक आईडीमा एउटा पोष्ट साझा गर्दै आफ्नो नाम र फोटोको दुरुपयोग गरिएको बताएकाछन् । आफ्नो नाम र फोटो दुरुपयोग गरि खोलिएको फेसबुक आइडीको स्क्रिन सर्टसहितको आफ्नो पोष्टमा भनेकाछन्–‘पुनः अनुरोध गर्दछु, मेरो फोटो र नामको दुरुपयोग गरी खोलिएको यो फेक आइडी हो । यस आइडीबाट पैसा माग्ने, अनुचित सन्देश पठाउने तथा विभिन्न विषयमा भ्रम सिर्जना गर्ने काम केही दिनदेखि भइरहेको जानकारी प्राप्त भएको छ। यस्तो साइबर अपराध गर्ने व्यक्तिहरू विरुद्ध कानुनी प्रक्रिया पनि अघि बढाइसकिएको छ।  तसर्थ, यदि तपाईंहरू झुक्किएर यस फेक आइडीसँग साथी बन्नु भएको छ भने कृपया Unfriend गरी सचेत रहनुहोला । साथै यो जानकारी अरू साथीहरूसम्म पनि पु¥याइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

मेयर आचार्यको नाम र फोटो दुरुपयोग गरि बनाइएको नक्कली फेसबुक आईडीका सन्र्दभमा उनले यही  फागुन १७ गते आईतबार बेलुका ५ बजेर ६ मिनेटमा पहिलोपटक पोष्ट गरेका थिए । त्यसबखत ५९४ फ्रेन्डलिष्टमा साथी रहेको सो नक्कली फेसबुक आइडीबाट ११ वटा पोष्ट गरिएको थियो ।


Duduwa Tato hawa Bachau Image

सो बेला उनले आफ्नो नाम र फोटो दुरुपयोग गरि नक्कली फेसबुक आइडी बनाइएकोले साथी नबन्न र रिर्पोट गर्न आग्रह गरेका थिए । सोही दिन राती ८ बजेर ४८ मिनेटमा मेयर आचार्यले पुनः स्टाटस लेख्दै निर्वाचनको संवेदनशील समयमा साथीहरूलाई आर्थिक सहयोग माग्ने तथा अनुचित म्यासेज पठाउने काम नक्कली फेसबुक आइडीबाट भइरहेकाले सबै सचेत र सजग बन्न अनुरोध गरेका थिए ।

कसले किन र कुन प्रयोजनका लागि आफ्नो नाम र फोटो प्रयोग गरि नक्कली फेसबुक आइडी बनायो त्यो थाहा नभएको मेयर आचार्य बताउँछन् । उनले मेरो नक्कली आइडी बनाउनेविरुद्ध कानूनी प्रक्रिया पनि अघि बढाइसकिएको बताए ।