निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन
- | राजनीति | नेपाखबर | अपराध–घटना
- १० फागुन २०८२, आइतवार
- नेपाखबर
नेपालगन्ज १० फागुन : आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिएकी हुन् ।
प्रदेशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भनिन्, “अहिले सरकारको मुख्य कार्यादेश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रित गर्न आग्रह गर्न चाहन्छु ।” उनले फागु पूर्णिमा (होली) आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्या देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।
प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएकीछन् ।
बैठकमा सहभागी सुरक्षा अधिकारीले भारतको सीमासँग जोडिएको ५१४ किलोमिटर खुला क्षेत्र तराईका छ जिल्लाको मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग–अलग सुरक्षा चुनौती भए पनि सुरक्षा निकायले त्यसलाई रोक्न सक्ने रणनीतिसाथ अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताए । उनका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लागत अवस्थाबारे जानकारी गराएका थिए । तराईका जिल्ला प्रमुख अधिकारीले प्रमुख साझा चुनौती सीमा क्षेत्र रहेको ५१४ किलोमिटर खुला सीमालाई भारतका अधिकारीसँग समन्वय गर्ने बताएका थिए । बैठकमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, मध्यपश्चिम पृतनापति हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीसहितका सुरक्षा अधिकारीले आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका थिए ।





0 Comments